जनमतको ६० औं श्रृङ्खलामा ४१ जनाले रक्तदान गरे, पत्रकार जायसवाल सम्मानित

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिका र एसओएस नेपालगन्जको आयोजना र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा त्रैमासिक रक्तदान कार्यक्रममा चार जना सञ्चारकर्मी तथा सात महिला सहित ४१ जनाले रक्तदान गरेका छन् ।

आज जेठ ३१ गते विहीवार आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको हो ।

खजुरा क्यान्सर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.सुभाष मेहता, वरिष्ठ पत्रकार झलक गैरे र एसओएस नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिकहरु होमराज गिरी, सन्दिप आचार्य र पुनम रानालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।

कार्यक्रमकै बीचमा आजकै दिन १०० औं पटक रक्तदान गर्ने पत्रकार तथा रक्त अभियन्ता पवन जायसवाललाई “शतक रक्तदाता” को रुपमा सम्मान गरिएको छ । उहाँलाई नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमतका सम्पादक पूर्णलाल चुके, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका सल्लाहकारहरु दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनालले दोसल्ला ओडाएर “शतक रक्तदाता” को रुपमा सम्मान गर्नुभएको थियो ।

“रक्तदान जीवन दान”को महान उद्देश्यका साथ २०४६ साल असोज महिनादेखि निरन्तर रुपमा रक्तदान गर्दै आउनु भएको छ । कार्यक्रममा रक्तदानको महान अभियानमा हातेमालो गरी सहकार्य गर्ने सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि, नेपालगन्ज–१८ का सञ्चालक स्वयम्सेवी रक्तदाता तथा समाजसेवी कमल कार्की र ६० औं श्रङ्खलासम्म निरन्तर रुपमा प्राविधिक सहयोग गर्ने प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई उहाँहरुको योगदानको कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ६० औं श्रृङ्खलामा बिहीबार रक्तदान कार्यक्रम गरिएको हो ।

वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ६० औं श्रृङ्खलासम्म करिब तीन हजार पाँच सय पिन्ट बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।

स्वास्थ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुन सक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ ।

त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साताभित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

Previous articleयुवालाई स्वरोजगार र उद्यमशील बनाउन ‘३९० घण्टे वाइरिङ तथा प्लम्बिङ तालिम’
Next articleकांग्रेस बाँकेद्वारा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here