
रोल्पा । रोल्पामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । उक्त घटनामा दुई जना घाइते छन् ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर ४ खाद्यटोलमा ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय शनी भनिने सुनील पुनको एक समूहको चक्कु प्रहारबाट हत्या भएको छ।
शनिबार राति ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार पुनको उद्धार गरी जिल्ला अस्पताल रेउघा पु¥याएको थियो ।
पुनको उपचारका क्रममा मृत्यु भएको हो । पुरानो रिसिबीका कारण सुनीललाई बसेकै ठाउँमा गई अर्को एक समूहले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । त्यसक्रममा अर्का दुई जनाको हात र टाउकामा चोट लागेको डिएसपी लामाले बताउनुभयो ।
पुनमाथि चक्कु प्रहार गरी हत्या गर्नेहरूको पहिचान भइसकेको र उनीहरूलाई नियन्त्रणमा लिने तयारी भइरहेको डिएसपी लामाले बताउनुभयो ।





