
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल आज (बुधबार) देखि आँखाको सर्जिकल सेवा सुरू गरेको छ । ३ वर्षअघि एउटा कोठाबाट ओपिडी सेवा सुरू गरेको आँखा विभागले आजदेखि सर्जिकल सेवा पनि सुरु गरेको हो ।
अव आँखाका बिरामीहरुले सहज र सर्वसुलभ सेवा पाउने अस्पतालले जनाएको छ । आगामी दिनमा आँखा सेवालाई थप प्रभावकारी बनाउँदै नयाँ सर्जिकल सेवा पनि थप्दै जाने पनि अस्पतालले जनाएको छ ।
पछिल्लो समय अस्पतालले सर्वसाधारणको गुनासो लिँदै सेवा सुधारलाई प्राथमिकतासमेत दिएको छ । साथै अस्पतालले हालसम्म दिँदै आएको सेवाहरुमा लाग्ने शुल्कहरु घटाएको छ । अस्पताललाई थप व्यवस्थित गरिँदै लगिने योजना रहेको अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिनुभयो ।





