चक्रवाती आँधी : रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेस सञ्चालनमा रोक

नयाँ दिल्ली । चक्रवाती आँधी दाना आज भारतको पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्न सक्ने बताइएको छ । यसैबिच पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्नका लागि तयारी पूरा भएको बताएको छ ।

‘दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाइएको छ । सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ ।

दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ सम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ ।

दाना आँधी बुधबार रातिदेखि बिहीबार बिहानसम्म पुरी र सागर द्वीपको बिचको तटमा पुग्न सक्छ । जसका कारण बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको छ ।

पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित रूपमा दानाबाट प्रभावित जिल्लाहरूको अवस्थाको निगरानी गर्ने जिम्मेवारी सचिवस्तरका अधिकारीहरूलाई सुम्पिएकी छन् । यस क्षेत्रमा धेरै नियन्त्रण कक्षहरू खोलिएका छन् ।

करिब एक हजार राहत शिविर खोलिएका छन् । यस क्षेत्रका विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था समेत गरिएको छ ।

ओडिशाका राजस्व र प्रकोप व्यवस्थापन मन्त्री सुरेश पुजारीले पर्यटकहरूलाई आगामी चार दिनका लागि सबै होटल बुकिङ रद्द गर्न भनेका छन्। मङ्गलबार पुरीबाट तीन हजारभन्दा बढी पर्यटकलाई सकुशल घर पठाइएको उनले बताए ।

केहीलाई बुधबार बिहान पनि पठाइएको छ । अहिले पुरीका सबै होटल लगभग खाली छन् ।

Previous articleलुम्बिनी सरकारमा तीन मन्त्री थप, आजैबाट लिए जिम्मेवारी
Next articleकेआइइसी अब नेपालगञ्जमै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here