
बुटवल । लुम्बिनी प्रदेश सरकारमा तीन जना मन्त्री थपिएका छन् । दलिय भागबन्डाका कारण विवादमा रहँदा नियुक्त हुन नसकेका मन्त्रालयको जिम्मेवारीका लागि नेतृत्व चयन गरिएको छ ।
सरकारमा जाने दलगत रुपमा हेर्दा नेपाली कांग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरी तीन जना मन्त्री थपिएका हुन् ।
कांग्रेसभित्रको आन्तरिक किचलोले रोकिएको मन्त्रिपरिषद् विस्तारको टुंगो बुधबार मात्रै लागेको थियो । नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा कुरा नमिल्दा अझै एक मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा छ ।
नेपाली कांग्रेसबाट बर्दियाबाट निर्वाचित जन्मजय तिमिल्सीनाले सामाजिक विकास मन्त्रालय, नवलपरासीबाट निर्वाचित देवकरण कलवारले वन तथा वातावरण मन्त्रालय र बाँकेको निर्वाचन क्षेत्र नम्ब२ को ख बाट निर्वाचित जनता समाजवादीका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले बिहीवार बिहान उहाँहरूलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको हो ।
सत्ता साझेदार नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसदहरूको सत्ता यात्रामा यसपटक भने ब्रेक लागेको छ । उनीहरूलाई अर्को चरणमा सहभागी गराइने सत्तासाझेदार दलहरूबीच सहमती भएको छ ।
सत्ता साझेदारहरूका बीचमा एमालेलाई मुख्यमन्त्री सहित पाँच नेपाली कांग्रेसलाई पाँच र अन्य साना दललाई दुई मन्त्रालय दिने सहमती भएको थियो ।





