
राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाले सडक छेउछाउँ पशु चौपाया, घरपालुवा जनावर, कृषि तथा निर्माण सामाग्री बाँधे वा राखे कारवाही गर्ने भएको छ ।
यस्ता गतिबिधिका कारण सडक दुर्घटनाको जोखिम बढेको हुँदा राजमार्ग तथा भित्री सडकका छेउछाउँ कसैले पनि यस्तो कार्य गरेको पाइए पालिकाले कारवाही गर्ने भएको हो ।
सडक छेउँमा पशुहरु बाँध्नले सडक प्रयोगकर्तालाई सास्ती हुने गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । ‘कतिपयले त सडकनै कब्जा गरेर यस्तो गतिबिधि गर्नुहुन्छ, जसले दुर्घटनाको जोखिम पनि बढ्छ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘कुनै अप्रिय घट्ना हुन नदिन घरपालुवा जनावर, पशुचौपायालाई सडकभन्दा बाहिर व्यवस्थित गर्ने कुरामा सबैको ध्यान पुग्न जररुी छ ।’
पछिल्लो समय राप्ती सोनारी गाउँपालिका क्षेत्रमा सडक दुर्घटना बढेको छ । सडकनै जाम हुने गरेर अरुलाई दुःख हुने गरी कसैले पनि यस्तो कार्य नगर्न समेत अध्यक्ष पौडेलले अनुरोध गर्नुभयो ।
उहाँले सडक नै अवरोध हुने गरेर सामान राखेको अवस्थामा आफुलाई हिंडेको अनुमान गरौं र दुर्घटना हुँदा कस्तो अवस्था आउने त्यो कुरा पनि एकपटक सोंच्न अध्यक्ष पौडेलले गाउँपालिकाबासीलाई ध्यान दिन आग्रह पनि गर्नुभयो।
दुर्घटना हुँदा कसैको छोरा, छोरी, आमाबुवा, दाईभाउजु लगायत परिवारका सदस्य घुमाउने तथा घाइते भएर अस्पताल लैजानुपर्ने अवस्था आउने भएकाले यस्ता कार्य नगर्ने कुरामा सबै सचेत हुन आवश्यक रहेको अध्यक्ष पौडेलको भनाई छ । यस्तो कसैलाई पनि नहोस भन्नका लागि यस्तो गर्न खोजिएको उनले स्पष्ट पारे ।
पछिल्लो समय गाउँपालिका क्षेत्र अन्तर्गतका महेन्द्र राजमार्ग, हुलाकी सडकलगायतका भित्रि सडकको छेउछाउँमा घरपालुवा जनावर बाँधेको, पशुचौपायालाई छाडा छोडिएको, सडक छेउछाउमा धान दाउने टयाक्टर, थ्रेसर मेसिन, ट्रली राख्ने तथा निर्माणजन्य सामाग्रीहरु (गिट्टी, बालुवा, इट्टा, ढुङ्गा) लगायतका बस्तुहरु राखेको पाइएको छ ।
यस्तो कार्यले सडक दुर्गन्धित हुनका साथै सडक दुर्घटना बढेको पाइएको तथा सडक बिग्रिने हुँदा राजमार्गको बिच केन्द्रदेखि ३० मिटर वरिपरि र हुलाकी राजमार्गको बिच केन्द्रदेखि २५ मिटर वरिपरि र भित्रि बाटोको बिच केन्द्रदेखि १५ मिटर वरिपरि यस्ता कार्य नगर्न पालिकाको आग्रह छ ।
यस्तो गरेको पाइए प्रचलित कानून अनुसार कारवाही गर्नेसमेत पालिकाले जनाएको छ ।





