
नेपालगन्ज । योग समिति नेपालको ८ औं दिक्षान्त समारोह नेपालगन्जमा सम्पन्न भएको छ । चार महिनाको तालिमपछि एक समारोहमा २०८३ सालको नयाँ ब्याचमा आबद्व १६२ जना योग प्रशिक्षक दिक्षित भएका छन् ।
गुरुदिक्षा ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक कानुन यातायात तथा उद्दोग मन्त्री भण्डारीलाल अहिरले योग जीवन पद्धतिको मुख्य आधार भएकोले हरेक नागरिकले योग गर्नुपर्ने आवश्यकता औल्याउँनु भयो । उहाँले समितिले प्रत्येक वडामा योगाहलको व्यवस्थाको लागि अगुवाइ गरेमा थप पहल प्रदेश सरकारको तर्फबाट गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । योगको सम्पूर्ण विकास र बिस्तारका लागि सामुहिक हातेमालोमा उहाँको जोड थियो ।
यस्तै लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वधार विकास मन्त्री रत्न खत्रीले योग स्वास्थ्यको लागि सञ्जीवनी भएकोले नेपालगञ्जलाई योगमय बनाउने बताउनु भयो । उहाँले योग गर्नाले शरीर मात्र स्वस्थ्य नभई योगको माध्यम बाट हजारौं मानिसलाई जोडनु भएकोमा योग गुरु डा.गिरिराजलाई धन्यवाद व्यक्त गर्नु भयो ।
योग समिति नेपालका अध्यक्ष एवं योगगुरु आयुर्वेदाचार्य डा.भटराइको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सल्लाहकारद्वय नन्दलाल बैश्य, मीन मल्ल लगायतले नेपालगञ्जलाई योगमैत्री शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो । यस्तै ४ महिनाको लामो अवधिमा योग प्रशिक्षण दिने लिडर लगायत साहायक प्रशिक्षक ज्युहरूलाई सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा बिभिन्न ७ बिधाबाट करिब ८० जनालाई योग गुरु डा.भटराइले सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नु भएको थियो । त्यस्तै उकुष्ट ३ जनालाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा योग समिति नेपालका निवर्तमान सचिव चिरिन्जिवि ज्ञवालीले कार्यक्रको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
बिगत लामो समयदेखि योग गर्दै आउनु भएका डा.विनोद थापा, डा.कल्पना थापा, योग प्रशिक्षक भरत महतो लगायत मिथिला सेवा समाजका अध्यक्ष रामलोचन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा हालसम्म योग समिति नेपालबाट ७३६ जना प्रशिक्षक उत्पादन भएको बताइएको छ ।
त्यसैगरी, नगरभित्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ८ हजार जना योगसँग जोडिएका छन भने हालसम्म बाँके जिल्ला लगायत अन्य जिल्लामा गरि ६३ वटा योग केन्द्र संन्चालनमा रहेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन योग समिती नेपालका सचिव टंक पौडेले गर्नुभएको थियो ।






