
नेपालगञ्ज । सहयात्री नेपालले १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गर्दै सहयात्री युवा फेलोशिप २०२४ अन्तर्गत बालअधिकार, युवा सशक्तिकरण, मानव बेचबिखनबिरुद्ध वकालत, जलवायु न्याय सम्बन्धी दुई दिने तालिम आयोजना गरेको छ ।
मंसिर ४ र ५ गते नेपालगञ्जमा संचालित तालिम युवा वर्गलाई सामूहिक वकालतमा परिचालन गरेर युवा शक्ति सशक्तिकरण गर्ने उद्देश्य रहेको थियो ।
पहिलो दिन माइती नेपाल बाँकेका प्रमुख केशव कोइरालाले मानव बेचिबिखनबिरुद्ध र युवा सशक्तिकरण विषयमा सहयात्री नेपालका ऋतिक शाहीले सहजीकरण गर्नुभएको थियो ।
दोस्रो दिन प्रहरी निरीक्षक शिभा थापाले मानव बेचबिखन र त्यसका कानूनी पक्षमा तथा स्वेता गुरुङले बाल अधिकार सम्बन्धी सहजीकरण गर्नुभएको थियो । एनआरएनए अस्ट्रेलिया र नारी निकुञ्ज अस्ट्रेलियाको सहयोगमा सम्पन्न सो तालिम संचालन गरिएको थियो ।
विभिन्न प्रक्रियाबाट छनोट भएका सहभागीहरू सहयात्री सहयात्री युवा फेलोशिप २०२४ का सदस्य हुनुहुन्छ । तालिमपछि ती ११ जना सदस्यहरूले विभिन्न सामाजिक अभियानहरूमा संलग्न भई सक्रियता जनाउनुपर्नेछ ।
कार्यक्रममा राष्ट्रिय स्तरकी आध्यात्मिक योग प्रशिक्षक अरुणा गुरुङले मेडिटेशन गराउँदै तालिमको सुरुवात र समापन गर्नुभएको थियो ।
तालिममा लामो समयदेखि किशोरी क्लब, बाल क्लब र युवा क्लबहरूमा संलग्न युवाहरूको सहभागिता रहेको थियो ।





