
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना गरेको छ । आशिर्वाद पेन्ट्स प्रालिलाई नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर र ढोडेगाउँ बीचमा रहेको दोन्द्रा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फाल्ने ग १ ख ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारवाहीका लागि नेपालगञ्ज उपमहानगरपालिकामा पठाएको थियो ।
केही दिन अगाडी समयपत्र डटकमले ‘ठाउँ ठाउँमा फोहोरको डंगुर, उपमहानगर उदासीन, भएको कार्य चर्चा बटुल्न मात्र : सर्वसाधारण’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारमा नेपालगञ्जका विभिन्न क्षेत्रमा नागरिकले जथाभावी फोहोर फाल्ने गरेको, उपमहानगरपालिका व्यवस्थापनमा सक्रियता नदेखाएको र दोंन्द्रा नालामा फोहोर फाल्न गएको गाडीलाई फालेको फोहोरलाई उठाउन लगाएर फिर्ता पठाएर ढोंढे गाउँका स्थानीय अभिनब (शुशिल) बर्माले सामाजिक संजाल फेसबुकमा सामग्री पोष्ट गरेर नागरिक खबरदारी गर्नुभएको थियो ।
नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोमैला फाल्नेविरुद्ध शून्य सहनशिलताको नीति लिएको बताउँदै लुकीछिपी फोहोर फालेको देखेमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।
विष्टले नगर सफा राख्नु सबै नगरबासीको साझा दायित्व भएको भन्दै फोहोरमैलाको उचित व्यवस्थापनका लागि सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।





