
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ कम्दीमा कम्मर शाह मेला सुरु भएको छ । मेलामा भारतबाटसमेत हजारौँ दर्शनार्थी आउने मेला बिहीबार एक औपचारिक कार्यक्रमसँगै सुरु भएको हो ।
चार दिनसम्म संचालन हुने मेलालाई पूर्व मन्त्री इस्तियाक अहमद राईले उद्घाटन गर्नुभएको छ । उद्घाटनमा लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारीलाल यादव, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, संघीय सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खान लगायतको उपस्थिति रहेको थियो ।
मेलामा बाँके र बर्दियाका सर्वसाधारणसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गरेको मेला व्यवस्थापन समिति अध्यक्ष झंक बहादुर थापाले जानकारी दिनुभयो ।
यसैगरी मेलामा नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगितासमेत आयोजना गरिएको छ । पुष ७ गतेसम्म संचालन हुने मेला समापनको एक दिनअघि अर्थात पुष ६ गते शनिबार स्थानीय कला संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यका साथ सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।
मेलामा सांस्कृतिक प्रतियोगितासंगै विभिन्न झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिलगायतका गतिविधीहरु समेटिने भएको छ । पुष ६ गते शनिबार दिउँसो नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता, अन्तिम दिन ७ गते दिउँसो र रातीसमेत नेपाली सांस्कृतिक कार्यक्रमसंगै नेपाली कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष थापाले बताउनुभयो ।
प्रतियोगितामा बिजयी हुनेलाई २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने प्रतिस्पर्धीले ६ हजार ५ सय रुपैया पुरस्कार तथा प्रमाण प्रत्र प्रदान गरिने प्रतियोगितामा सहकार्य गरेको स्थानीय नवदुर्गा युवा क्लव डुडुवा ५ बाँकेका अध्यक्ष निर्मल चन्दले बताउनुभयो ।





