
नेपालगन्ज । भौतिक पुर्वाधारका संरचना निर्माणमा सबै वडामध्ये अग्र स्थानमा रहेको नेपालगन्ज वडा नम्बर १८ मा अर्को पक्की नयाँ सडक बन्ने भएको छ । झण्डै डेढ करोड बजेटमा निर्माण हुने पक्की सडकको निर्माण कार्य वडाध्यक्ष दिपक कुमार बर्माले शिलान्यास गर्नुभयो ।
सुर्खेतरोडस्थित भाटभटेनीदेखि पश्चिमतर्फ उपेन्द्र श्रेष्ठको घर हुँदै भुजई गाउँ जाने ५ सय ५० मिटर लामो सडक ८७ लाख ९७ हजार रूपैयाँमा टेण्डर सम्झौता भएपछि राप्ती गणेश कन्स्ट्रक्सनले निर्माण सुरु गरेको हो ।
२०८२ जेठ १५ गते निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले काम सुरु गरेको पक्की नयाँ सडकमा दायाँबायाँ एक मिटरको नाला र ६ मिटरको चौडा बाटोसहित ८ मिटरको नयाँ बाटो बन्ने वडाध्यक्ष बर्माले जानकारी दिनुभयो । वडाध्यक्ष बर्माका अनुसार, टेण्डर रकममा बोल कबोल गर्दा घटेर बचेको बाँकी रकम थप सडक बिस्तारमा लगानी गरिने वडाको योजना छ ।
वडाअध्यक्ष बर्माका अनुसार सडक निर्माणका लागि कुल १ करोड ४३ लाख बजेट विनियोजन भएको थियो । ‘यो आर्थिक बर्षमा हाम्रो वडाको सबैभन्दा ठूलो बजेटको सडक हो ।,’ वडाअध्यक्ष बर्माले भन्नुभयो, समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छु, साथै पूर्व योजना अनुसार भौतिक पूर्वाधार निर्माणका कामहरू पनि क्रमशः अगाडि बढाइरहेका छौं ।’
नेपालगन्ज वडा नम्बर १८ ले वार्डमा विकास निर्माणमा गरिरहेको उल्लेखनीय कामको कदर गर्दै शिलान्यास कार्यक्रममा स्थानीयबासीले वडाध्यक्ष बर्मालाई सम्मान समेत गरेका थिए ।






