भेरी अस्पतालमा स्वास्थ्य बिमा सुविधा प्रभावकारी

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जबाट प्रदान हुने स्वास्थ्य बिमा सुविधाको अनुगमन गरिएको छ । स्वास्थ्य बिमा सुविधालाई अझ प्रभावकारी बनाउन गर्न सकिने सहयोग सहकार्यका लागि सरोकारवालाहरुले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीसँग बिमा सुविधाका बारेमा गहन छलफल तथा बिमा सुविधा प्रदान हुने कार्ड नविकरण क्षेत्र र औषधी बितरण क्षेत्रको अनुगमन गरि छलफल गरिएको थियो । अस्पतालबाट प्रदान हुँदै आएको बिमा सुबिधाप्रति सर्वसाधारणको चाप बढेको अनुगमनले देखाएको छ । पहिलाभन्दा बिमा सुविधा प्रदानमा अस्पतालले राम्रो र सहज व्यवस्थापन गरेको पनि देखिएको छ ।

केही समयअघि बिमा सुविधा बनाएकाले सुविधा पाउनका लागि असहज परिस्थितिको सामाना गर्नुपर्नेको गुनासो रहेको थियो भने मंगलबार गरिएको अनुगमनले बिमा सुविधा सहजरुपमा प्रदान गर्न अस्पतालले आवश्यक भौतिक व्यवस्थापनहरु गरेको देखिएको छ । बिमितहरुको सुविधाका लागि अस्पतालले छुट्टै दर्ता काउण्टर निर्माण गरि व्यवस्थापन गरेको, औषधी लिनका लागि छुट्टै काण्टरको व्यवस्था गरिएको साथै दर्ता र औषधी लिने स्थानमा भिडभाड हुँदा बस्नका लागि बेन्चको व्यवस्था गरेको छ ।

यस्तै दर्ता गर्ने काण्टरमा आवश्यक सामाग्रीहरु पनि व्यवस्थापन अस्पतालले गरेको देखिएको छ । बिमितहरुका लागि छुट्टै काण्टर निर्माण भएपछि बिमितलाई सुबिधा लिन पहिलाभन्दा सहज भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । यद्दपी बिमितले चाहेकै जस्तै सेवा दिन नसकिएको अस्पतालका प्रमुख डा.सुवेदीले बताउनुभयो । बिमितहरुले चाहेको औषधी दिन नसकिएको उहाँको भनाई छ । सुविधाभित्र भएको औषधीबाहेक दिन नहुने भएकाले दिन नसकिएको प्रमुख डा.सुवेदीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय अस्पतालमा बिमितहरुको समेत चाप बढेको देखिएको छ ।

डा.सुवेदीले भने सुविधा लिएकाहरुले सुविधालाई सुविधाका रुपमा प्रयोग गर्नुपर्नेमा सोच्न सुझाव दिनुभयो । ‘अस्पतालमा क्यास आउने र बिमित सबै बिरामीलाई एकै प्रक्रिया, समय अनुसार नै उपचार दिने गरेका छौं ।,’ डा.सुवेदीले भन्नुभयो, ‘हामीले कसैलाई काखा कसैलाई पाखा गर्न पनि हुँदैन, अस्पतालको क्षमताभन्दा बढी सेवाग्राहीका कारण सेवा प्रदानमा लाग्ने समयलाई सकारात्मक रुपमा बुझ्न जरुरी छ ।’

एक जना डाकटरले आवश्यकता भन्दा बढी सेवा दिएपनि भएको जनशक्तिले भ्याउन नसकेको अवस्था रहेको डा.सुवेदीले बताउनुभयो । संघीय सरकार अनुसारको क्षमताभन्दा क्षमताभन्दा बढी क्षमतामा अस्पतालले सेवा दिने गरेको पनि उहाँले बताउनुभयो । सरोकारवाले यस बाहेक खजुरामासमेत बिमा सुविधा प्रदान गर्न सकिए राम्रो हुनेमा जोड दिएका छन् । खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले खजुरामा बिमा सुविधा प्रदान तत्पर रहेको बताउनुभयो । उहाँका अनुसार पालिकास्तरीय स्वास्थ्य बिमा समितिसमेत निर्माण भइसकेको छ ।

अनुगमन तथा छलफलमा भेरीका प्रमुख मडिकल सपरिटेन्ड डा.सुवेदी, नेपालगन्ज वडा नम्बर १२ का वडाअध्यक्ष तरुण बज्राचार्य, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, फोकल पर्सन नरेश श्रेष्ठ, नेपालगन्जका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, भेरी अस्पताल बीमा इन्चार्ज बसुन्धरा ज्ञवाली, भेरी वातावरणीय बिशिष्टता समूह (बिग्रुप) का अध्यक्ष इन्द्र बहादुर भण्डारी, निर्देशक डम्बर सुनार, महिला स्वास्थ्य स्वयंसेविका नेपालगन्ज नगर अध्यक्ष प्रेमा शाही, एमडिएम फ्रान्सका म्यानेजर तर्क बहादुर थापा र स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बिग्रुप र एमडिएम फ्रान्सको साझेदारीमा बाँकेमा संचालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत लक्षित समुदायमा स्वास्थ्य बिमा सेवाको पहुँच र उपयोगिताका बारेमा अनुगमन तथा छलफल गरिएको थियो ।

Previous articleविकास निर्माणमा अगाडी नेपालगन्ज-१८ मा डेढ करोडको पक्की सडक निर्माण सुरु
Next articleचिडिमार समुदायको हकहितका लागि राष्ट्रियस्तरको संजाल गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here