चिडिमार समुदायको हकहितका लागि राष्ट्रियस्तरको संजाल गठन

नेपालगन्ज । चिडिमार समुदायको हकहित तथा उत्थानको उद्देश्यसहित नेपालगन्जमा राष्ट्रियस्तरको संजाल गठन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को नेतृत्वमा चिडिमार महिला संजाल गठन गरिएको हो ।

चिडिमार समुदायको हक अधिकार, उत्थान तथा समुदायको विकास हुने उद्देश्यले राष्ट्रियस्तरीय संजाल निर्माण गरिएको नेपालगन्ज १२ का वडाअध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो । ‘हामीले यस समुदायका महिलाहरुको शसक्तिकरणका लागि संजालको औचित्य देखिएको हो ।,’ वडाअध्यक्ष बज्राचार्यले भन्नुभयो, ‘उहाँहरु आफै आफ्ना समस्या उठान तथा समाधान खोज्न सक्ने बन्नुहुनेछ ।’

वडाअध्यक्ष बज्राचार्यले महिला संजाल दर्ताको प्रक्रियामा गइसकेको बताउनुभयो । बाँकेमा चिडिमार समुदायको बाक्लो उपस्थिति रहेको छ । महिला संजाल पहिलो पटक गठन गरिएको चिडिमार समुदायका अगुवा रामु चिडिमारले बताउनुभयो । उहाँका अनुसार नेपालमै सबैभन्दा बढी बाँकेमा यस समुदायको बसोबास रहेको छ ।

महिलाहरुको हक अधिकारका सवालमा उहाँहरुलाई सक्षम बन्न संजालले सहज बनाउने अगुवा रामुको विश्वास छ । महिला दिदीबहिनीको हक अधिकार र सामाजिक समस्याविरुद्ध सचेतनामुलक कार्यक्रम गरिनेछ ।, अगुवा रामुले भन्नुभयो, यस्ता कार्यक्रमहरुले उहाँहरुको सशक्तिकरणमा सहयोग पुग्नेछ ।

संजालको अध्यक्षमा सुनिता चिडिमार, उपाध्यक्षमा लक्ष्मी चिडिमार, सचिवमा अनुषा चिडिमार, सहसचिवमा सवन कुमारी चिडिमार, कोषाध्यक्षमा दुर्गादेवी चिडिमार रहनुभएको छ । ११ सदस्यीय गठित कार्यसमिति सदस्यहरुमा समरिया चिडिमार, अस्मिता चिडिमार, बसन्ती चिडिमार, सिता चिडिमार र प्रतिक्षा चिडिमार हुनुहुन्छ ।

वडाअध्यक्ष बज्राचार्य, महिला सदस्य सुशिला पन्त, दलित महिला सदस्य चन्दा चिडिमार, सदस्य राज कुमार बाल्मिकी, सदस्य विनोद कुमार रस्तोगी, वडाको आमा समूहका अध्यक्ष एंव पदाधिकारी लगायतको उपस्थितिमा संजाल गरिएको थियो ।

अगुवा रामुका अनुसार नेपालको बाँके, बर्दिया, सिरहा र सप्तरी जिल्लामा चिडिमार समुदायको बसोबास रहेको पाइन्छ । ‘सुनिएको आधारमा यी जिल्लाहरुमा उपस्थिति छ भन्ने छ ।,’ अगुवा रामुले भन्नुभयो, ‘तर बाँके बर्दियाबाहेक जिल्लाको वास्तविकता अझै बुझिएको छैन् ।’

बर्दियामा २० जनाको संख्यामा यो समुदाय रहेको छ भने बाँकेमा १ हजार ६ सयको हाराहारीमा रहेका छन् । जिल्लाको जानकी गाउँपालिकाको करमोहना, नरैनापुर, शम्शेरगन्ज, कोहलपुर नगरपालिकाको वडा नम्बर १४ र १५, र नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १२ मा यो समुदायको बसोबास रहेको छ ।

Previous articleभेरी अस्पतालमा स्वास्थ्य बिमा सुविधा प्रभावकारी
Next articleराप्ती सोनारीमा घर आवास कार्यक्रम सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here