
नेपालगन्ज । भारतसँग जोडिएको सीमामा सुरक्षा मजबुत रहेको एक कार्यक्रममा जोड दिइएको छ । भारतसँग जोडिएको बाँकेका सीमा क्षेत्रको सुरक्षा मजबुत रहेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको हो ।
सीमा सुरक्षा तथा सीमासँग सम्बन्धित बिबिध पक्षहरुको बारेमा नेपालगन्जमा सरोकारवाला निकायबीच आयोजना गरिएको अन्तरक्रियामा सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई रहेको बताएको छ ।
कार्यक्रमका सीमा अतिक्रमण, राजस्व चुहावट, लागू औषध ओसारपसार, मानव तस्करीलगायतको बिषयमा छलफल भएको थियो । प्रमुख अतिथि सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक प्रदिप बुढाथोकीले प्रधान कार्यालयको निर्देशन बमोजिम देशभरी प्रत्येक महिना सरोकारवाला निकायसँग छालफल कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
उहाँले सीमा क्षेत्रमा दशगजा अतिक्रम नियन्त्रण भएको र सीमा क्षेत्रसँग सम्बन्धित गतिविधि न्यून भएको बताउँदै सशस्त्र प्रहरी जुनसुकै बेला आफ्नो कार्य गर्न तम्तयार रहेको बताउनुभयो । ‘सीमा क्षेत्र भएर हुन सक्ने सम्भावित बन्देज गरिएका घट्नाहरु नियन्त्रण गर्न हामी सक्रियरुपमा लागेका छौं,’ प्रहरी नायव उपरीक्षक बुढाथोकीले भन्नुभयो, ‘हामीले गर्ने कार्य गरिरहेको हुँदा सरोकारवालाले पनि यसमा ध्यान दिएर सक्रियता देखाउन जरुरी छ ।’
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले भन्सार छली नियन्त्रणमा आएको उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा खटिने सबै राष्ट्रसेवक कर्मचारीले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दा देशको राजश्वमा बृद्धि हुने बताउनुभयो ।
‘सबै राष्ट्रसेवक कर्मचारीले इमानदारिता देखाउन जरुरी छ,’ भन्सार प्रमुख पौडेलले भन्नुभयो, ‘एउटाले जिम्मेवारीलाई बोध गर्ने र अर्कोले मतलब नगर्ने हो भने सीमा क्षेत्रमा हुने हरेक गलत क्रियाकलापलाई नियन्त्रण गर्न सकिँदैन, त्यसमा सबै असल कर्मचारी हुनुपर्छ ।’
छलफलमा नेपालगन्ज उपमाहानगरपालिका वडा नमबर १६ का वडा अध्यक्ष कलिम अहमद अन्सारी, डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मोहन राम मिश्र, जानकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहम्मद राजा राई, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज एवं प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकी, सशस्त्र प्रहरी निरीक्षक ललित शाही, नेपालगन्ज उद्योग वाणिज्य संघका टिकामणी उपाध्याय र स्थानियबासीको उपस्थित रहेको थियो ।





