नेपालगन्जमा संस्कृति ज्ञान परीक्षा संचालन हुँदै

नेपालगन्ज । करिव दुई हजार विद्यार्थीहरुको सहभागितामा संस्कृति ज्ञान परीक्षा संचालन हुने भएको छ । ‘संस्कार र संस्कृति नै राष्ट्रका प्राण हुन्’ भन्ने नाराका साथ यही माघ ३० गते बुधबार नेपालगन्जमा दुई हजार जना विद्यार्थीहरुको सहभागितामा संस्कृति ज्ञान परीक्षा हुने भएको हो ।

‘आदर्श विद्यार्थी नै आदर्श नागरिक बन्ने छन्’ भन्ने ध्येयका साथ नेपालगन्जका दुई हजार विद्यार्थी सहभागि हुने गरी संस्कृति ज्ञान परीक्षा आयोजना गरिएको हिन्दू स्वयंसेवक संघ नेपालले जानकारी दिएको छ । बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले एकैदिन सो परीक्षा हुने बताएको छ ।

संघका बाँके बर्दियाका संघ चालक रामकुमार दिक्षितले प्रत्येक वर्षझै यस वर्ष पनि यस्तो कार्यक्रम गरिन लागेको जानकारी दिनुभयो । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ (प्रतियोगिता) नेपालगन्जस्थित रामलीला मैदानमा हुने बताउनुभयो । तयारी बारे दिइएको जानकारी अनुसार प्रतियोगितामा नेपालगन्जका करिव ४० वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहनेछ ।

विद्यार्थीहरु भाइबहिनीहरुलाई संस्कार र संस्कृति को ज्ञान दिने उद्देश्यका साथ हुने परीक्षा (प्रतियोगिता) मा ६ कक्षादेखि १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु सहभागि हुन पाउने कार्यक्रम संयोजक खड्क बहादुर बोहराले बताउनुभयो । ‘प्रतियोगिताले संस्कृत समाजको निर्माण र आदर्श विद्यार्थीहरुको उत्पादनमा सहयोग पुग्छ,’ संघ चालक दिक्षितले भन्नुभयो, ‘यो भनेको आदर्श व्यक्ति निर्माण हो ।’

१५ दिन अगाडीबाट यस कार्यक्रमको तयारी सुरु गरिएका संघ चालक दिक्षितले बताउनुभयो । ‘तयारी स्वारुप १५ दिनअघि संघको किताब वितरण गर्ने गछौं,’ संघ चालक दिक्षितले भन्नुभयो, ‘त्यही पुस्तकमा भएको ज्ञान आर्जन गरेर विद्यार्थी परीक्षामा सहभागि हुन्छन् र प्रतियोगिताको नतिजा पनि त्यही दिन नै सार्वजनिक गरिन्छ ।’ परीक्षा तथा नतिजा परीक्षा समितिमार्फत गरिने संघ चालक दिक्षितले बताउनुभयो ।

१० वर्षदेखि संघले यस्तो कार्यक्रम संचालन गर्दै आएको छ । संघका अनुसार गतवर्ष देशभर संचालन भएको यो कार्यक्रममा ७५ हजार विद्यार्थी सहभागि भएका थिए । यो कार्यक्रम प्रत्येक वर्ष बाँकेको विभिन्न पालिकामा पनि हुँदै आएको छ ।

आयोजकका अनुसार परीक्षा (कार्यक्रम) मा विजयी हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार पुरस्कार पाउने छन् । यसैगरी सान्त्वना स्थान प्राप्त गर्ने १२ जनालाई पाँच सय रुपैयाका दरले पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक बोहराले बताउनुभयो ।

Previous articleप्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन र ६ करोडको कारोबार
Next articleसीमा भएर हुने अबैध कार्य न्यून : प्रहरी नायव उपरीक्षक बुढाथोकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here