
नेपालगन्ज । होलीमा उत्श्रृंखल गतिविधि गर्ने ३५ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार, होली खेल्दा अस्वभाविक गतिविधि गर्ने, मासपे गरेर सवारी चलाउने, प्रहरीसँग झगडा गर्ने ३५ जनालाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुमध्ये झगडा नै गरेकालाई मुद्दा चलाएर कारबाही गर्ने तयारी गरिएको छ । प्रहरीले शुक्रबार नै १ सय ३७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । कागजपत्र नभएको, धेरै जना बसाएर गुडेका सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।
होलीका दिन शुक्रबार जिल्लामा ३ वटा सामान्य दुर्घटना भएको प्रहरी प्रवक्ता डीएसपी पातलीले बताउनुभयो । जिल्लामा अपवादबाहेक होली शान्तपूर्वक सकिएको छ ।
यसैगरी होलीको दिन दाङमा झन्डै दुई सय जना मोटरसाइकल चालक कारबाहीमा परेका छन् । सबभन्दा बढी तुलसीपुर क्षेत्रमा ८२ जना, घोराही क्षेत्रमा ७९ जना, वडा प्रहरी कार्यालय लमही क्षेत्रबाट २२ जना र इलाका प्रहरी कार्यालय भालुवाङ क्षेत्रबाट १५ जना सवारी नियम उल्लंघन गरी मोटरसाइकल चलाउनेहरू कारबाही परेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले ८२ जना, जिल्ला प्रहरी कार्यालय दाङले ३२ जना, जिल्ला ट्राफिक कार्याययले २२ जना, वडा प्रहरी कार्यालय घोराहीले २५ जना, लमही क्षेत्रबाट २२ जना र भालुबाङ क्षेत्रबाट १९ जना गरी कुल एक सय ९८ जना मोटरसाइकल चालक कारबाहीमा परेका हुन् ।
१९ जना चालकलाई प्रहरी नियन्त्रणमा लिइएको थियो । तीमध्ये १५ पुरूष र चार महिला थिए । मापसे गरेका तथा होहल्ला गरी समाजको शान्ति भंग गर्न प्रयास गर्नेहरूलाई नियन्त्रणमा लिई बेलुकी मात्रै छोडिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङले होली लक्षित सुरक्षा योजना बनाइन प्रहरी निरीक्षक रामकुमार केसीको कमाण्डमा प्रहरी परिचालन गरेको थियो ।
सो टोलीले बजारका चोक, राजमार्गहरूमा दुर्घटना हुन नपाओस् भनेर विशेष गरी दुई पाङ्ग्रे सवारी चेकजाँच गरेको थियो । मापसे गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाई मोटरसाइकल चलाउनेहरूदेखि एउटै मोटरसाइकलमा तीनदेखि चार जनासम्म यात्रा गर्नेहरूलाई होल्डमा राखिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
पछिल्लो तथ्याङ्क नियाल्दा जिल्लामा सबभन्दा बढी मानवीय क्षतिका घटना दुई पाङ्ग्रे सवारीबाट भएको देखिन्छ । चाडपर्वको बहानामा बढीजसो किशोर र युवाबाट हुने लापरबाहीका कारण हुन सक्ने सम्भावित दुर्घटना प्रहरीकै सक्रियताका कारण टरेको गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
पूर्वसुरक्षा योजना बनाई काम गर्दा एउटै पनि दुर्घटना होलीका दिन नभएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । प्रहरीले होलीको दिन साना सवारी लक्षित चेकजाँचलाई प्राथमिकता दिएपछि ठूला सवारी साधन पनि चेकजाँच गरेको थियो ।





