
नेपालगन्ज । राप्ती नदीबाट बस्ती जोगाउन निर्माण गरिएको जनता तटबन्ध भत्किने सम्भावनाले नदी आसपासको बस्ती जोखिममा रहेको छ । जनता तटबन्ध भत्किने सम्भावना बढ्दै गएकाले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ र ७ का गाउँ बस्तीहरु जोखिममा पर्ने देखिएको छ ।
नदी तथा खानिजन्य जिल्ला अनुगमन समितिले राप्ती सोनारीको वडा नम्बर ६ को क्षेत्रमा गरेको अनुगमनले सो क्षेत्रका दुई वटा वडाका गाउँबस्तीहरु जोखिममा पर्ने देखिएको हो । संयुक्त सरोकारवाला अनुगमनले नदीजन्य पदार्थको उत्खनन गरी जनता तटबन्ध माथिबाटै टिप्पर तथा ट्याक्टर प्रयोग भएको पाइएकाले बस्तीहरु जोखिममा रहेको देखिएको छ ।
टिप्पर तथा ट्याक्टरको प्रयोगका कारण तटबन्ध भत्किने जोखिम बढेको छ । सो क्षेत्रका ४/५ ठाउँमा तटबन्ध भत्किने जोखिम बढ्दै गएको देखिएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तटबन्ध माथिबाट नै टिप्पर तथा ट्याक्टर हिडेको देखिएको छ । नदीजन्य पदार्थ उत्खनन गरेर लोड टिप्पर तटबन्धमाथिबाट हिडेको पाइएको समितिका संयोजक चौधरीले बताउनुभयो । टिप्परका कारण विभिन्न ठाउँमा तटबन्ध भत्किँदै गएको र यसले आसपासका दर्जनबढी बस्तीलाई जोखिम बढ्दै गएको बताउनुभयो ।
तटबन्ध भएर नै सामाग्री लोड भएर टिप्पर हिड्ने गरेको स्वयंम राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले बताउनुभयो । ‘टिप्पर र ट्याक्टरका कारण बस्ती नै जोखिममा पर्ने सम्भावना बढेको छ,’ वडाअध्यक्ष खरेलले भन्नुभयो, ‘बस्तीलाई नै जोखिममा धकल्ने कार्य नगर्न अनुरोध गर्दछौं ।’
राप्ती सोनारी गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन तथा विक्री बितरणको ठेक्का लगाएको छ । वडा नम्बर ६ को ढलैया, उच्चा टपरी, खल्ला टपरी हुँदै कुण्डा चोक (राप्ती पुल नजिक) सम्म निर्माण भएको तटबन्धमाथिबाट नै ठेक्का लागेको स्थानबाट लोड टिप्पर तथा ट्याक्टरकाे आवत जावत हुँदै आएको छ ।
जोखिमका विषयमा स्थानीयबासीले गुनासोसमेत गरेका थिए । अनुगमनपछि समितिका संयोजक चौधरीले जनता तटबन्धमाथिबाट हुँदै आएको ढुवानी कार्य तत्काल बन्द गर्ने बताउनुभयो । यसका लागि समितिले अनुगमन प्रतिवदेनसमेत तयार गरेको छ भने सो कार्य बन्द गर्नका लागि सम्बन्धि निकायहरुमा पत्राचार गरेको जनाएको छ ।
अनुगमनमा संयोजक चौधरी, वडाअध्यक्ष खरेल, सशस्त्र प्रहरी बल ३० नम्बर गण महेन्द्रनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक चन्द, जिल्ला समन्वय समिति बाँकेका शाखा अधिकृत बिष्णु प्रसाद धिताल, जिल्ला वन कार्यालय बाँकेका वन अधिकृत पंकज कुमार ठाकुर, जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा दिपक कुमार बुढाथोकी, प्रहरी चौकी कुण्डाका प्रहरी सहायक निरीक्षक रेशम खड्कालगायतको सहभागिता रहेको थियो ।





