
नेपालगन्ज । ‘आफ्नो वडा आफै बनाऔं’ भन्ने सन्देशसहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा सरसफाई अभियान संचालन गरिने भएको छ । वडाभित्र हरेक टोलमा रहेका टोल विकास समिति तथा सरोकारवालाहरुको सहकार्यमा प्रभावकारीरुपमा वडामा सरसफाई कार्यक्रम संचालन गरिने भएको हो ।
वडालाई नमूना वडा निर्माण गर्ने उद्देश्यले वडाले हरेक टोलमा टोल विकास समितिको परिकल्पना गरेको जनाएको छ । सरसफाई कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि बुधबार वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिको समन्वयात्मक बैठक बसेको थियो । बैठकले वडालाई सरसफाईयुक्त बनाउन एकजुट भएर लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।
वडाअध्यक्ष तरुण बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले विगतमा गरिएका कार्यक्रमको समिक्षासमेत गरेको छ । बैठकले हरेक टोल विकास समितिको सक्रियता अझ बढाउनुपर्ने कुरामा जोड दिएको छ । सरसफाई कार्यक्रमलाई प्रभावकारी बनाउन वडास्तरीय समितिले भेरी वातावरणीय बिशिष्टता समूह (बि–ग्रुप) संग सहकार्य गरेको छ ।
वडाको हरेक टोललाई सरसफाईयुक्त बनाउन सरसफाई अभियान संचालन गर्न लागिएको वडाअध्यक्ष बज्राचार्यले बताउनुभयो । ‘हुन त अभियान निरन्तर संचालनमा नै रहेको छ,’ वडाअध्यक्ष बज्राचार्यले भन्नुभयो, ‘अब अलिकति तिब्र र हरेक घरमा सकारात्मक प्रभाव पर्नेगरी जाने भन्ने छलफल गरिएको छ ।’
टोलटोलमा रहेको समितिहरुलाई समितिकै नेतृत्वमा सरसफाई कार्यक्रम संचालन गर्नुपर्ने सुझावसहित छलफल गरिएको वडाअध्यक्ष बज्राचार्यले बताउनुभयो । जथाभावी फोहोर फाल्नले मानिसको स्वास्थ्यमा प्रभाव पर्नुका साथै वातावरणमा समेत असर पुग्ने भएकाले ‘आफ्नो वडा आफै बनाऔ, आफ्नो टोलको नेतृत्व आफै गरौं’ भन्ने सन्देशसहित थप केही कार्यक्रमहरु चलाउने भेलाले निर्णय गरेको वडाअध्यक्ष बज्राचार्यले बताउनुभयो ।
१२ नम्बर वार्डमा १४ वटा टोलहरु रहेका छन् भने १४ वटै टोलहरुमा टोल विकास समिति समेत रहेको छ । हाल समितिले नियमितरुपमा पाक्षिक तथा मासिक रुपमा सरसफाई प्रवद्र्धनका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको वडा सचिव नेवलाल घर्तिले बताउनुभयो । वडाबाट टोलहरुको अनुगमन अन्तर्गत केही समयअघि गरिएको अनुगमनले टोलमा सरसफाईको अवस्था राम्रो रहेको देखिएको थियो ।
वडास्तरीय अनुगमन टोलीले यसअघि कृष्णसार टोल र सुनगाभा टोलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ९० प्रतिशत सरसफाई रहेको देखिएको र १० प्रतिशतमा थप चेतना अभाव देखाएको छ । बुधबारको बैठकले हरेक टोलहरुमा सार्वजनिक सन्देश प्रवाह गर्न माईकिङ गर्ने, फाेहाेरहरू फाेहाेर बाेक्ने ट्याक्टरमा राखेर सहयाेग गर्ने र साप्ताहिक सरसफाइ सम्बन्धि कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।





