
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा वडा नम्बर ४ मा रहेको सहायताका लागि सहयोगी हातहरुले खजुराको वडा नम्बर ७ मा रहेको एक मदरसाका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
शनिबार औपचारिक कार्यक्रम गरेर संस्थाले वडा नम्बर ७ स्थित मदरसा अराबिया दारुल वलूम खलिलुल्लाहमा अध्ययनरत ३९ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा झोला प्रदान गरेको हो ।
संस्थाकी अध्यक्ष पुष्पा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश मदरसा स्कुल व्यवस्थापन समितिका उपाध्यक्ष नकी खाँले राज्यले मदरसाहरुको अपनत्व लिन नसकेको बताउनुभयो । मदरसालाई स्वीकृती मात्रै दिएर नभइ राज्यले अपनत्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।
साथै रमजानको महिनामा संस्थाले मदरसाका बालबालिकालाई सहयोग गरेकोमा धन्यवादसमेत ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सुनारले संस्थाले स्थापनाकालदेखि सामाजिक कार्य गर्दै आएको बताउँदै बालबालिकाहरुका लागि थोरै भएपनि सहयोग गर्न सकेकोमा आफूहरु खुशी भएकाे उल्लेख गर्नुभयो ।
संस्थाका सचिव विकास हरि कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रैस खजुरा गाउँपालिका सभापति रमेश सिंजाली, किसान महासंघ बाँकेका जिल्ला सचिव महेन्द्र मल्ल ठकुरी, मदरसा व्यवस्थापन विद्यालयका अध्यक्ष खलिल खाँ, प्रधानाध्यापक रमेश यादव, नेपाली काँग्रेस वडा नम्बर ७ का सभापति सलाउद्दिन खाँलगायतको उपस्थिति रहेको थियो ।





