४० घण्टापछि आगो नियन्त्रणमा

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरास्थित सांग्रिला प्लाइ उद्योगमा लागेको आगो करिब ४० घण्टापछि नियन्त्रणमा आएको छ।

दाङका प्रहरी निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहाले मंगलबार दिउँसो करिब ४ बजेतिर उद्योगमा लागेको आगो नियन्त्रणमा आएको बताउनुभयो ।

सोमबार बिहान करिब १ बजेदेखि लागेको आगो मंगलबार दिउँसो ४ बजेतिर नियन्त्रणमा आएको हो । पश्चिम नेपालकै ठूलो मानिने उक्त उद्योग ७ बिघा बढी क्षेत्रफलमा फैलिएको थियो ।

यसले प्रत्येक दिन एक सय टन प्लाइ उत्पादन गर्थ्यो । यहाँ झन्डै साढे चार सय जनाले रोजगारी पाएका थिए । आगो नियन्त्रणमा लिन जिल्लाका तीन वटा, कपिलवस्तु र बाँके जिल्लाबाट दुईरदुई वटा र बर्दियाबाट एउटा गरी आठ वटा दमकल प्रयोग गरिएका थिए ।

दर्जन बढी पानी ट्यांकर पनि प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी झन्डै साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

उद्योगभित्र प्लाइ बनाउन ठूलो मात्रामा भण्डारण गरिएका कच्चा पदार्थ, अति प्रज्वलनशील केमिकल र काठका कारण आगो नियन्त्रणमा लिन समय लागेको डिएसपी शाहले बताउनुभयो ।

अग्नी नियन्त्रणसम्बन्धी आवश्यक दक्ष जनशक्ति र उपकरण उपलब्ध नहुनाले पनि ठूलो क्षति बेहोर्नुपरेको सरोकारवालाहरू बताउँछन् । आगो नियन्त्रणमा आइसकेको हुँदा अब क्षतिको विवरण संकलन सुरू हुने डिएसपी शाहले बताउनुभयो ।

Previous articleसहयाेगी हातद्वारा मदरसाका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान
Next articleघुस रकमसहित प्रहरी चौकी प्रमुख पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here