जुंगे महादेवको मूर्ति राखियो, साउन ५ गतेदेखि दर्शनका लागि खुला गरिने

नेपालगन्ज । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर क्षेत्रमा रहेको जुंगे महादेव मन्दिरको मर्मत, सम्भार तथा जीर्णोदार कार्य ढिलाई हुदा दुई बर्षदेखि दर्शनार्थीले जुंगे महादेवको दर्शन गर्न पाएका छैनन् ।

साउन, तीज तथा फागुन महिनामा भगवान शिवको विशेष पुजा अर्चना हुने गर्दछ । यही समयमा जुंगे महादेवको स्थापित मन्दिर तयार नहुँदा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुँदै आएका छन् ।

बागेश्वरी जुंगे महादेव जाने पुल कमजोर भएको बर्षौंपछि नेपालगन्ज उपमहानगरपालिकाले त्यसको जीर्णोदारका लागि बजेट विनियोजन गर्दै टेण्डर आव्हान गरेको थियो । ठेकेदार कम्पनीसँग पुलका लागि २०७९ चैत्र ९ गते सम्झौता हुँदा २०८० चैत्र १ गते निर्माण सक्ने भनिएको थियो ।

तर, २०८१ माघ ३० हुँदै २०८२ असार २२ सम्मका लागि उपमहानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठकले निर्माण म्याद थप गरेको थियो । पुल निर्माणका क्रममा जुंगे महादेवको मूर्ति झिक्नुपर्ने भयो, बर्षौ पुरानो महादेवको मूर्ति झिक्ने क्रममा विभिन्न ठाउँमा खण्डित भयो ।

त्यसपछि बनाइएको नयाँ मूर्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न टिका टिप्पणी भए । त्यसपछि बागेश्वरी मन्दिरमा अष्टधातुले बनेको जुँगे महादेवको मूर्ति राखिएको छ । महादेवको मूर्ति प्राण प्रतिष्ठासँगै दर्शनार्थी भक्तजनका लागि खुला गरिने भएको छ ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल प्रसाद अधिकारले १५ लाख लागतमा अष्टधातुको जुंगे महादेवको मूर्ति राखिएको जानकारी दिनुभयोे ।

‘साउन ५ गते सोमबार मूर्तिको प्राण प्रतिष्ठा गरी दर्शनार्थीका लागि खुला गरिनेछ ।,’ उहाँले भन्नुभयो, ‘जुंगे महादेव स्थापित मन्दिरको पूर्वाधारहरू सबै साउन ५ अगावै सकिन्छ ।’ यो खबर नेपालगन्जबाट प्रकाशित दैनिक नेपालगन्जले २०८२ असार ३१ गतेको अंकमा लेखेको छ ।

Previous articleकैलालीमा हतियारसहित ३ जना पक्राउ
Next articleसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here