गैसस दर्ता ऐनको मस्यौदा बारे बाँकेमा बिरोध

नेपालगन्ज । संघ संस्था ऐन, २०८२ को मस्यौदाप्रति बाँकेस्थित नागरिक समाजले असहमति प्रकट गरेको छ । नेपाल सरकार गृह मन्त्रालयद्वारा हालै जारी संघ संस्था ऐन, २०८२ को मस्यौदा बारे बाँकेस्थित नागरिक समाजका प्रतिनिधिहरुले असहमति प्रकट गरेका हुन् ।

राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी सर्वसाधारणको राय सुझाव माग गर्दै जारी गरिएको मस्यौदामा समावेश केही प्रावधानहरु सकारात्मक रहेपनि अधिकाँश प्रावधानहरु अव्यवहारिक भएको नागरिक समाजका प्रतिनिधिहरु बताउँछन् ।

´गैसस दर्ता ऐन २०३४, राष्ट्रिय निर्देशन ऐन, २०१८ र समाज कल्याण ऐन, २०४९ लाई एकिकृत गरि नयाँ ऐन ल्याउन नागरिक समाजका तर्फबाट लामो समयदेखि पहल, पैरवी भईरहेकै सन्दर्भमा नागरिक समाज संघ संस्थालाई प्रवद्र्धनन र सहजीकरण गर्नका लागि एकिकृत ऐन आउनु सकारात्मक कुरा हो` संयुक्त रुपमा जारी बिज्ञप्तीमा भनिएको छ ´तर नागरिक संघ संस्था तथा सरोकारवाला निकायसँग कुनै परामर्श नगरी, कुनै प्रक्रियामा समावेश नगराई ल्याइएको मस्यौदामा हामी असहमत छौं ।`

बिज्ञप्तीमा भनिएको छ ´विगतका सहमतिहरुलाई समेत बेवास्ता गरी, मस्यौदाका अधिकांश प्रावधानहरुले नागरिक संघ–संस्थाहरुलाई थप संकुचित पार्ने, संस्थाहरुलाई सहजीकरण तथा सबलीकरण गर्नुको सट्टा नियन्त्रण गर्ने र नागरिक सहभागिताको भूमिकालाई कटौती गर्ने उद्देश्यबाट अभिप्रेरित मस्यौदाले नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शिताको साझा मूल्यहरुमा समेत प्रहार गरेको छ ।`

बिज्ञप्तीमा भनिएको छ ´मस्यौदाले अनावश्यक प्रशासनिक झन्झट थप्दै विभिन्न सरकारी निकायहरुमा धाइराख्नुपर्ने प्रावधानहरु प्रस्ताव गरेको छ, जसले गर्दा मस्यौदा अग्रगामी भन्दा पनि बढी पश्चगामी र झन्झटिलो देखिन्छ ।` बिज्ञप्तीमा मस्यौदा लोकतान्त्रिक मुल्य-मान्यता, संवैधानिक अधिकार र नागरिक स्वतन्त्रतालाई संकुचन गर्ने खालको भएकाले गम्भीर असहमति रहेको उल्लेख छ ।

बिज्ञप्तीको अन्तमा भनिएको छ ´प्रस्तावित मस्यौदालाई नागरिक समाज संस्थामैत्री बनाई सम्बन्धित सरोकारवालाहरुसँग वृहत छलफलको प्रक्रियाबाट मौलिक हक र अधिकारको सम्मान गर्दै संघ संस्थाहरुका लागि कार्यमूलक वातावरण सृजना गर्नका लागि नेपाल सरकार गृह मन्त्रालयसँग हामी जोडदार माग गर्दछौं ।`

बाँकेस्थित नागरिक समाजको तर्फबाट बिज्ञप्ती जारी गर्नेहरुमा गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नवीन गिरी, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, नेपालगन्ज उधोग बाणिज्य संघका सदस्य कमल कार्की, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, बास नेपालका केन्द्रिय अध्यक्ष शिव कुमार बर्मा, गैरसरकारी संस्था महासँघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, अधिबक्ता वसन्त गौतम, जिल्ला युवा क्लव सन्जाल बाँकेका महासचिव हेमराज भट्ट रहनुभएकाे छ ।

Previous articleजानकीमा बेलभार स्वास्थ्य चौकी उत्कृष्ट
Next articleबाँकेमा प्रेस युनियनको सदस्यता अभियान सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here