
काठमाडौँ । भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएका घटनाहरू सार्वजनिक भएपछि नेपाल औषधि व्यवस्था विभागले उत्पादक, वितरक, चिकित्सक र उपभोक्तालाई गम्भीर हुन निर्देशन दिएको छ । विभागले बालबालिकाको ज्यान लिने खतरा रहेका ‘कोल्ड्रिफ कफ सिरप’ लगायतका खोकीका औषधिबारे विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
विभागले मंगलबार सूचना जारी गर्दै भारतमा उत्पादन गरिएका केही कफ सिरपमा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल नामक विषालु पदार्थ फेला परेको र यसको सेवनबाट १८ बालबालिकाको मृत्यु भएको जनाएको छ । नेपालमा ‘कोल्ड्रिफ कफ सिरप’ दर्ता नभएको जानकारी दिँदै विभागले यस्ता विषाक्त पदार्थ मिसावट भएका औषधिबारे यसअघि पनि चेतावनी जारी गरेको उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य संगठनको वर्किङ डकुमेन्ट अनुसार तरल औषधिको उत्पादनमा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोलको मात्रा परीक्षण गर्न निर्देशन दिँदै विभागले औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू (प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसरिनर ग्लिसेरिन) मान्यताप्राप्त बिक्रेताबाट मात्र खरिद गर्न उत्पादकहरूलाई निर्देशन दिएको छ। उत्पादन अघि तोकिएको विधिअनुसार परीक्षण गर्नुपर्ने र उत्पादन भइसकेपछि पनि प्रत्येक ब्याचमा विषालु पदार्थको परीक्षण गरेर मात्र बजारमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।





