‘स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य’

नेपालगन्ज । ‘भित्रि शान्ति विश्व भरि सद्वभाव’ नारासहित नेपालगन्जमा विश्व ध्यान दिवस मनाइएको छ । योग समिति नेपाल र चिकित्सक संघ भेरी शाखाको संयुक्त आयोजनामा विश्व ध्यान दिवस विविध कार्यक्रमका साथ मनाइएको हो ।

नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा.रूपानन्द अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग समिति नेपालका अध्यक्ष तथा योगगुरु आयुर्वेदाचार्य गिरिराजले मानव जीवनमा ध्यानको महत्वबारे विस्तृत प्रवचन दिनुभएको थियो । उहाँले दैनिक जीवनको व्यस्ततालाई केही समय मात्र ध्यानमा समर्पित गर्न सकिएमा मानसिक शान्ति प्राप्त हुनुका साथै शारीरिक रूपमा पनि निरोगी बन्न ठूलो सहयोग पुग्ने बताउनुभयो ।

योगगुरु भट्टराईले ध्यानको नियमित अभ्यासले तनाव, चिन्ता जस्ता मानसिक समस्यालाई कम गर्नुका साथै विभिन्न प्रकारका नसर्ने रोगहरूबाट बच्नपनि मद्दत पुग्ने उल्लेख गर्दै सबैलाई दैनिक व्यस्तताबाट केही समय छुट्याएर ध्यान अपनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार ध्यान केवल शारीरिक अभ्यास मात्र नभई अनुशासित, सन्तुलित र सकारात्मक जीवनशैलीको मार्गदर्शक भएको बताउनुभयो । ध्यान नियमित गर्दा जीवनमा सकारात्मक सोच विकास हुन्छ ।

उहाँले आधुनिक जीवनशैलीका कारण मानिसहरू शारीरिक भन्दाबढी मानसिक रूपमा अस्वस्थ बन्दै गएको बताउनुभयो र ध्यानलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो । चिकित्सक संघका अध्यक्ष अधिकारीले चिकित्सकीय दृष्टिले ध्यानको प्रभावका विषयमा जानकारी दिँदै ध्यानले उच्च रक्तचाप, अनिद्रा, मानसिक तनाव र भावनात्मक असन्तुलनमा लाभ पु¥याउने बताउनुभयो ।

ध्यानलाई जीवनशैलीमा समावेश गर्दा व्यक्ति मात्र नभई परिवार र समाज पनि स्वस्थ रहने उहाँको भनाई छ । दैनिक जीवनयापनको व्यस्तताका कारण आफ्नो शरीर र मनको हेरचाहका लागि समय निकाल्न नसक्ने व्यक्तिहरूका लागि ध्यान अत्यन्तै उपयोगी र लाभदायी हुने सरोकारवालाहरूले बताएका छन् । कार्यक्रममा योग समिति नेपालका सबै तहका व्यक्तिहरुको सहभागिता रहेको समितिका उपाध्यक्ष लोकमाया सुवेदी ‘सुमित्रा’ ले जानकारी दिनुभयो ।

Previous articleचौथो जिल्लास्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेडलाई
Next articleमहासंघ बाँकेको रक्तदान, सतक रक्तदाता जायसवाल सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here