पर्यटन प्रवर्द्धन गर्न सशक्त भूमिका निभाउने पत्रकारहरुको प्रतिबद्धता

नरैनापुर । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपले भूमिका निभाउने बाँकेका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् ।

नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको ‘अन्तरक्रिया र वनभोज’ कार्यक्रममा उपस्थित भएका जिल्लाका पत्रकारहरुले नरैनापुरमा पर्यटनको प्रचुर सम्भावना रहेको कुरा औंल्याउँदै मिडियाबाट नै पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न सम्भव रहेको बताए ।

नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आफू स्थानीय सरकारको नेतृत्वमा आइसकेपछि स्थानीय स्तरमा पर्यटकीय क्षेत्रको विकासमा सक्दो काम गर्दै आएको बताउनुभयो ।

गाउँपालिकाले सन्तानेश्वर मन्दिर, बर्फानी बाबा आश्रम लगायत स्थानीयस्तरमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकासमा काम गरेको उहाँले सुनाउनुभयो । उहाँले आफ्नो पहलमा केही वर्ष अघि कार्यक्रम गरेर सन्तानेश्वर मन्दिरमा एकै दिन हजारौं दर्शनार्थीहरुलाई उतार्न सफल भएको स्मरण गर्नुभयो । पर्यटन प्रवद्र्धनमा मिडिया र पत्रकारहरुसँग गाउँपालिका सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । ‘धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न हामीले धेरै कामहरु गरेका छौं,’ शाहले भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले नरैनापुरको पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रले खेलेको भूमिका र स्थानीय सरकारले गरेको पहल कदम प्रशंसनीय रहेको बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा पनि पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रलाई साथमा लिएर पर्यटन प्रवद्र्धन सम्बन्धि काम गर्नुपर्ने उहाँको सुझाव छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले नरैनापुर प्राकृतिक विविधताले भरिपूर्ण क्षेत्र रहेकाले यहाँ घुम्न आउने पर्यटकलाई आनन्दको अनुभूति हुने बताउनुभयो । ‘अलिकति उकालो लाग्ने हो भने सितल हावापानीको अनुभुति गर्न पाइन्छ, यहाँ जैविक विविधता छ, पर्यटकलाई आर्कषित गर्न सन्तानेश्वर, बर्फानी बाबा आश्रम, पर्यापर्यटन र कृषि पर्यटनको प्रचुर सम्भावना छ,’ उहाँले भन्नुभयो । नरैनापुरको पर्यटनलाई सञ्चारको मूल प्रवाहमा जोडिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नरैनापुर पर्यटनको ‘भर्जिन ल्याण्ड’ भएको बताउनुभयो । नरैनापुरको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण कडी बन्न सक्ने भन्दै गिरीले पर्यटन प्रवद्र्धनको लागि पत्रकार महासंघ बाँकेले गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो । उहाँले मिडियाको साथले पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार, संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गिरीले नरैनापुर अब दुर्गम नभई सुगम भइसकेको चर्चा गर्दै विकासको राजमार्गमा अघि बढिसकेको बताउनुभयो ।

उक्त कार्यक्रममा नागरिक दैनिकका पत्रकार अर्जुन ओलीले ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक प्रतिवेदन (आधार पत्र) प्रस्तुत गर्नुभयो । उक्त प्रतिवेदनमा भनिएको छ, ‘गाउँपालिका धार्मिक, प्राकृतिक, साँस्कृतिक र ग्रामिण तथा कृषि पर्यटनका हिसाबले अत्यन्तै सम्भावना भएको क्षेत्र मानिन्छ, चुरे पहाड, वनजंगल, धार्मिक स्थल, बहुसाँस्कृतिक सम्पदा र ग्रामीण जीवनशैली यहाँका प्रमुख विशेषता हुन्, यिनै विशेषताले नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने आधार प्रदान गरेको छ, यद्यपी, पर्याप्त प्रचार–प्रसारको अभावले यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन ।’

नरैनापुरमा धार्मिक, प्राकृतिक, साँस्कृतिक, ग्रामिण तथा कृषि पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको प्रतिवेदनमा जनाइएको छ । मिडियाले नरैनापुरको पर्यटन प्रवद्र्धनका लागि पर्यटन स्थलको परिचय, सकारात्मक छवि निर्माण, स्थानीय सँस्कृति र पहिचान संरक्षण, डिजिटल माध्यमको प्रयोग, लगानीमा आर्कषण र स्थानीय सरकारले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

Previous articleमहासंघ बाँकेको रक्तदान, सतक रक्तदाता जायसवाल सम्मानित
Next articleभूमि आयोगका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here