
नेपालगन्ज । स्थानीय सामानहरुको प्रयोग गरेर उत्पादिन गरिएको बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यले नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला बुधबारदेखि सुरु भएको छ ।
महिलाहरुले निर्माण गरेको हस्तकलाका सामानलगायतका सामाग्रीहरुको प्रचार प्रसार तथा बजारीकरण गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल बाँकेले सो प्रदर्शनी संचालन गरेको हो । प्रदर्शनीलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ ।
सो क्रममा बोल्दै नगर प्रमुख विष्टले महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न प्रदर्शनी मेला महत्वपूर्ण सावित हुँदै गएको बताउनुभयो । संघ बाँके अध्यक्ष रेवती सिंहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, केएल दुगद ग्रुप नेपालगन्जका सिइओ प्रदिप छाछेड लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेलाको १०औं संस्करण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा संचालन भइरहेको छ । महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्यसहित संघ बाँकेले हरेक वर्ष नेपालगन्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
माघ १८ गतेसम्म संचालन प्रदर्शनीमा प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी–कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरु बिक्री वितरण र प्रचार प्रसारको लागि राखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगद ग्रुपको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा ७५ वटा स्टल रहेका छन् ।





