
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत रहेको छ । चालू आर्थिक बर्षको ६ महिनाको पूँजीगत खर्च भने १०.४३ प्रतिशत रहेको छ ।
यस्तै वडागत बजेट खर्चतर्फ सबैभन्दा बढी खर्च वडा नम्बर ५ को छ । वडा नम्बर ५ को खर्च प्रतिशत ३१.११ छ । सबैभन्दा कम ५.०५ प्रतिशत वडागत खर्च वडा नम्बर ६ ले गरेको छ । योजना शाखा प्रमुख तेजेन्द्र रोकायाले प्रस्तुत गरेको खर्च विवरणमा सहकारी विकास शाखाले सबैभन्दा बढी ३८.२६ प्रतिशत खर्च गरेको उल्लेख छ ।
नेपालगन्ज उपमहानगरपालिकाले २२ करोड आन्तरिक राजश्व संकलन गर्ने प्रक्षेपण गरेकोमा यो अवधिभित्र १४ करोड अर्थात ६६.५५ प्रतिशत आन्तरिक आम्दानी गरेको छ । नेपालगन्जमा बिहीबार आयोजित ‘आर्थिक बर्ष २०८२.८३ को अर्धबार्षिक समिक्षा तथा तथ्याँक साक्षरता कार्यक्रम’ मा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आफ्नो शाखाको कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो ।
चन्दले स्वास्थ्य उपचारको लागि स्पाइनलका ८, मृगौला ३३ र क्यान्सरका १७८ गरी २१९ जना विरामीलाई स्वास्थ्य उपचार रकम भुक्तानी गरिएको जानकारी दिनुभयो । कार्यक्रममा तथ्याँङ्क समन्वय कार्यालय दाङका तथ्याङ्क समन्वय अधिकारी उपसचिव पोम नारायण पौडेलले तथ्याँङ्क साक्षरताका बारेमा सहजीकरण गरेको नेपालगन्ज उपमहानगरपालिकाका तथ्याँङ्क अधिकृत सुरेन्द्र पन्तले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले लक्षित उपलब्धि हासिल गर्न तदारुकताका साथ लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले ‘जिरो मिस्टेक’ का साथ चितुवा गतिमा अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो । कार्यक्रममा अहिलेसम्मको प्रगतिको समिक्षा र अब बाँकी अवधिमा कसरी अघि बढ्ने भन्ने विषयमा गहन छलफल गरिएको छ ।





