
राप्ती सोनारी । राप्ती सोनारी गाउँपालिका कार्यालयले कार्यालय परिसरभित्र कर्मचारी तथा जनप्रतिनिधिमाथि अभद्र व्यवहार, होहल्ला, धम्कीपूर्ण अभिव्यक्ति र अमर्यादित गतिविधि भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । गाउँपालिका कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
बुधबार दिउसो ३ बजे कार्यालयको नियमित कार्यसम्पादन तथा सेवा प्रवाह भइरहेका बेला केही व्यक्तिहरू कार्यालय परिसरभित्र प्रवेश गरी कर्मचारी तथा निर्वाचित जनप्रतिनिधिहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाइएको छ । यस घटनाले कार्यालयको नियमित सेवा प्रवाहमा अवरोध पुगेको र कर्मचारीहरूको मनोबल कमजोर बनाउने काम भएको गाउँपालिकाको ठहर छ ।
गाउँपालिकाले सार्वजनिक सेवामा खटिएका राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिहरू कानून, विधि र प्रक्रिया अनुसार जनताको सेवा गर्न प्रतिबद्ध रहेको अवस्थामा यस्ता गतिविधि कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ ।
कार्यालयले सार्वजनिक सेवाको वातावरणलाई शान्त, सुरक्षित र मर्यादित राख्न सबै पक्षको जिम्मेवारी रहेको समेत उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ कि ‘कुनैपनि विषयमा असहमति, गुनासो वा सुझाव भएमा प्रचलित कानूनी तथा प्रशासनिक प्रक्रियामार्फत समाधान खोज्नु लोकतान्त्रिक अभ्यासको मूल मर्म हो ।’
तर व्यक्तिगत आक्रोश, दबाब, धम्की वा अमर्यादित व्यवहार प्रदर्शन गर्नु कानून विपरीत तथा सामाजिक मर्यादा विपरीत कार्य भएको गाउँपालिकाको भनाइ छ । यस प्रकारका गतिविधिमा संलग्न व्यक्तिहरूलाई संयमित र जिम्मेवार व्यवहार गर्न कार्यालयले आग्रह गरेको छ ।
साथै घटनासम्बन्धी आवश्यक अध्ययन, तथ्य संकलन तथा प्रचलित कानून बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिहरूको सम्मान, सुरक्षा र मर्यादा कायम राख्दै निर्बाध रूपमा सार्वजनिक सेवा प्रवाह गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ । नागरिकलाई सेवा प्रवाहमा कुनै पनि अवरोध नहोस् भन्ने उद्देश्यले शान्तिपूर्ण र सहकार्यपूर्ण वातावरण आवश्यक रहेको पनि कार्यालयको भनाइ छ ।
यस घटनाबारे गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे हाे । उहाँले सार्वजनिक सेवा क्षेत्रमा खटिने कर्मचारीमाथि हुने यस्ता व्यवहारले समग्र प्रशासनिक प्रणालीमा नकारात्मक असर पार्ने भएकाले सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएकाे छ ।
स्थानीय तहको रूपमा राप्ती सोनारी गाउँपालिका नागरिकलाई नजिकबाट सेवा दिने निकाय भएकाले यस्ता घटना पुनः नदोहरिने गरी आवश्यक कदम चालिने अपेक्षा गरिएको छ । प्रशासनिक स्रोतका अनुसार घटनाको वास्तविक तथ्य पत्ता लगाउन प्रारम्भिक अनुसन्धान प्रक्रिया समेत अघि बढाइने तयारी छ ।
गाउँपालिकाले सबै सरोकारवालालाई कानूनको परिधिभित्र रही आफ्ना समस्या समाधान गर्न अनुरोध गर्दै शान्त, मर्यादित र जिम्मेवार नागरिक व्यवहार कायम राख्न अपिल गरेको छ ।





