
नरैनापुर । नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको सभाध्यक्षतामा सम्पन्न गाउँसभाको २०औँ अधिवेशनले आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८३ सर्वसम्मत रूपमा पारित गर्दै आगामी वर्षको विकास तथा सेवा प्रवाहको मार्गचित्र तय गरेको हो ।
गाउँसभामा अध्यक्ष शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तवले रु ४९ करोड २ लाख ८३ हजार बराबरको बजेट पेश गर्नुभएको थियो । छलफलपश्चात् गाउँसभाले नीति, कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले विशेष गरी दलित, मुस्लिम, मधेसी, थारु लगायतका समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक सशक्तीकरणका लागि लक्षित कार्यक्रम समेटेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष शाहले सीमित स्रोतसाधनका बीच पनि नागरिकको जीवनस्तर उकास्ने, आधारभूत सेवामा पहुँच विस्तार गर्ने तथा समावेशी विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ बजेट तथा कार्यक्रम निर्माण गरिएको बताउनुभयो । उहाँले आगामी वर्ष विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँसभामा वडा नं. १ का अध्यक्ष इसाक जोलाहा, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य तथा वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यलगायतले नीति तथा बजेटमाथि आफ्नो धारणा राख्दै समयमै बजेट ल्याउनु सकारात्मक कदम भएको बताउनुभएकाे थियाे । उहाँहरूले पारित कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयाे ।
प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएसँगै गाउँसभाको २०औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले पारित नीति तथा कार्यक्रमलाई परिणाममुखी ढंगले कार्यान्वयन गर्न सम्पूर्ण कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताउनुभयो ।
गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार नरैनापुर गाउँपालिका बाँके जिल्लामै आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्ने पहिलो स्थानीय तह बनेको छ । उहाँले समयमै बजेट पारित हुनु सुशासन, वित्तीय अनुशासन, योजना कार्यान्वयनको प्रभावकारिता तथा विकासप्रतिको संस्थागत प्रतिबद्धताको महत्वपूर्ण संकेत भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विषयगत शाखा प्रमुख, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।





