नरैनापुर पूर्णखोप सुनिश्चितता घोषणा

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका शुक्रबार एक कार्यक्रमका बिच पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिकाभित्रका सबै लक्षित बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन सफल भएपछि गाउँपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिकाअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पालिकाका ६ वटै वडामा घरदैलो सर्वेक्षण सञ्चालन गरिएको थियो । सर्वेक्षणका क्रममा १६ देखि २३ महिनाका ९०२ जना बालबालिका पहिचान गरिएका थिए । तीमध्ये ६७६ जना बालबालिकाले नियमित खोप प्राप्त गरिसकेका थिए भने छुट भएका २२६ जना बालबालिकालाई समेत खोप सेवाको पहुँचमा ल्याइएपछि गाउँपालिकाले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

घोषणा समारोहमा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र चौधरीले गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई प्रमाणीकरण पत्र हस्तान्तरण गर्नुभयो । त्यसपछि अध्यक्ष शाहले छ वटै वडाका स्वास्थ्य संस्था प्रमुखहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । पूर्णखोप अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पु¥याउने १२ जना खोप कार्यकर्तालाई सम्मान गरिएको थियो । भने स्वास्थय सेवाबाट सेवा निबृत्त भएका ३ जनालाई बिदाई समेत गरिएको थियो ।

तर कार्यक्रमको सबैभन्दा भावुक र स्मरणीय क्षण स्वास्थ्य सेवाबाट अवकाश प्राप्त सिअनमी दुर्गा शर्माको सम्मान तथा बिदाइका क्रममा देखियो । करिब तीन दशकसम्म नरैनापुरका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहेर काम गर्नुभएकी शर्माले आफ्नो सेवायात्राका उतारचढाव सम्झिँदै मन्तव्य दिन थालेपछि कार्यक्रमस्थल नै भावुक बनेको थियो ।

भावुक हुदै उहाँले भन्नुभयो, “मैले सेवा सुरु गरेको समय अहिलेको जस्तो सहज थिएन । सडक थिएन, यातायातको सुविधा थिएन, स्वास्थ्य संस्थामा पर्याप्त स्रोतसाधन थिएन । तर पनि गाउँका आमाबुबा, दिदीबहिनी र बालबालिकाको स्वास्थ्य नै मेरो पहिलो जिम्मेवारी थियो । कहिलेकाहीँ घण्टौँ पैदल हिँडेर बिरामीको घर पुग्नुपथ्र्यो । रातदिन नभनी सेवा गर्नुपथ्र्यो ।”

उहाँले सशस्त्र द्वन्द्वकालका कठिन दिनहरू सम्झिँदै थप्नुभयो, “जनयुद्धका बेला नरैनापुरलगायत सीमा क्षेत्र अत्यन्त त्रासपूर्ण थियो । बन्दुकको नालको सामना गर्दै हिँड्नुपथ्र्यो । बाटोमा लासका चाङहरू देखिन्थे । कतिपय दिन घर फर्किन पाइन्छ कि पाइँदैन भन्ने समेत निश्चित हुँदैनथ्यो । तर त्यो परिस्थितिले मलाई कर्तव्यबाट विचलित बनाउन सकेन । स्वास्थ्यकर्मीको धर्म भनेकै संकटमा परेका मानिसको सेवामा पुग्नु हो भन्ने विश्वासले मलाई अघि बढाइरह्यो ।”

भावुक हुँदै उहाँले भन्नुभयो, “आज म अवकाश लिँदै छु, तर मेरो मन नरैनापुरसँगै रहनेछ । यहाँका नागरिकले मलाई कर्मचारीभन्दा पनि आफ्नै परिवारको सदस्यजस्तै माया गर्नुभयो । मैले पाएको सम्मान, विश्वास र अपनत्व जीवनभर बिर्सन सक्दिनँ । यही माया र साथ मेरो सबैभन्दा ठूलो सम्पत्ति हो ।” उहाँले आगामी पुस्ताका स्वास्थ्यकर्मीलाई सेवाभाव, इमान्दारिता र समर्पणका साथ काम गर्न आग्रह गर्दै भन्नुभयो, “स्वास्थ्य सेवा जागिर मात्र होइन, मानवताको सेवा हो । बिरामीको अनुहारमा मुस्कान फर्काउन सक्नु नै सबैभन्दा ठूलो पुरस्कार हो ।”

अन्त्यमा उहाँको एक वाक्यले कार्यक्रमस्थललाई झन् भावुक बनायो। “यदि अर्को जन्म भन्ने कुरा सत्य हो भने, म फेरि यही भूमिमा स्वास्थ्यकर्मी भएर जन्मिन चाहन्छु । नरैनापुरका नागरिकको सेवा गर्ने अवसर फेरि प्राप्त होस् भन्ने मेरो मनोकामना छ ।” उहाँको मन्तव्यपछि केही समय कार्यक्रमस्थल मौनजस्तै बनेको थियो । सहभागीहरू ताली बजाउँदै उहाँप्रति सम्मान व्यक्त गरिरहेका थिए भने धेरैका आँखामा आँसु झल्किएको देखिन्थ्यो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र चौधरीले दुर्गा शर्माजस्ता समर्पित स्वास्थ्यकर्मीहरूको योगदानकै कारण दुर्गम क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका कर्मचारीहरूको योगदानको उच्च मूल्यांकन हुनुपर्ने धारणा राख्नुभयो । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पूर्णखोप सुनिश्चितता घोषणा केवल एउटा प्रशासनिक उपलब्धि नभई बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति पालिकाको दृढ प्रतिबद्धताको प्रमाण भएको बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवालाहरूको सामूहिक प्रयासबाट यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई दिगो बनाउन आगामी दिनमा पनि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य शाखाका प्रतिनिधि विवेक पौडेलले पूर्णखोप अभियानसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख सिता कार्की, गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तव, वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, प्रशासकीय अधिकृत भरत महतो, स्वास्थ्य शाखाका सहसंयोजक करम चौधरी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासम्म आइपुग्न अथक परिश्रम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । बाँके जिल्लाका ८ वटा स्थानीय तहमध्ये नरैनापुर गाउँपालिकासहित ७ वटा स्थानीय तह पूर्णखोप सुनिश्चितता पालिका घोषणा भइसकेका छन् ।

यस उपलब्धिले जिल्लामा बालबालिकाको नियमित खोप सेवामा पहुँच विस्तार, खोपको पूर्णता दर वृद्धि तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल भएको पुष्टि गरेको छ ।

Previous articleनरैनापुरकाे २०औँ गाउँसभा : ४९ करोड बढीको बजेट सर्वसम्मत पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here