कालो बेसार तथा फलफूल खेतीसम्बन्धी तालिम तथा बिरुवा वितरण

खजुरा । पारिवारिक निजी वन सङ्घ नेपाल, जिल्ला शाखा बाँकेको आयोजनामा खजुरा गाउँपालिका वडा नं. १ र २ का कृषकहरूलाई लक्षित गरी कालो बेसार तथा फलफूल खेतीसम्बन्धी तालिम, फलफूलका बिरुवा वितरण तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय कार्यकारी निकाय (आरआरएन) र डीजीएम नेपाल परियोजना अन्तर्गतको सहपरियोजनाका रूपमा सञ्चालन गरिएको कार्यक्रम २०८३ भदौ २० र २१ गते खजुरामा आयोजना गरिएको हो। कार्यक्रममा वडा नं. १ र २ का करिब ५० जना कृषकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता पारिवारिक निजी वन सङ्घ नेपाल, बाँके शाखाका अध्यक्ष सुनिल घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा पारिवारिक निजी वन सङ्घ नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष पदम जिसी, केन्द्रीय सचिवालय सदस्य बलराम भट्टराई, खजुरा गाउँपालिका कृषि शाखा प्रमुख युवराज ढकाल, वडा नं. १ का अध्यक्ष मानवीर क्षेत्री वडा नम्बर २ का वडा अध्यक्ष धनराम ओली लगायतको उपस्थिति रहेको थियो ।

दुई दिने तालिममा कृषि शाखा प्रमुख युवराज ढकालले कालो बेसारको खेती प्रविधि, उत्पादन, बजार सम्भावना तथा फलफूल खेतीका आधुनिक प्रविधिबारे कृषकहरूलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले स्थानीय स्रोत–साधनको उपयोग गर्दै व्यवसायिक तथा बहुवर्षीय फलफूल खेतीमार्फत कृषकको आयआर्जन बढाउन सकिने बताउनुभएको थियो ।

कार्यक्रमअन्तर्गत वडा नं. १ र २ का कृषकहरूलाई १ हजार ५ सय आँप र १ हजार ५ सय लिची गरी जम्मा ३ हजार फलफूलका बिरुवा वितरण गरिएको छ । साथै खजुरा गाउँपालिका वडा नं. २ स्थित शुक्र माध्यमिक विद्यालयको जग्गामा आँप तथा लिचीका बिरुवा रोपणसमेत गरिएको छ ।

कृषकहरूलाई बिरुवासँगै प्राङ्गारिक मल, फरुवा, ट्रली, हँसिया, गम्बुटलगायत कृषि सामग्रीसमेत वितरण गरिएको थियो । वडा नं. १ का अध्यक्ष मानवीर क्षेत्रीले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताउदै आरआरएन डीजीएम नेपाल परियोजना र सहजीकरण संस्था पारीवारिक निजी बन सङ्ग नेपाल बाके शाखालाइ धन्यवाद दिनुभयो ।

कार्यक्रमले कृषकहरूको कृषि ज्ञान, सीप तथा उत्पादन क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीयस्तरमा व्यवसायिक कृषि, आयआर्जन र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

Previous articleबाढीपीडितका लागि समृद्धिले पठायो राहत
Next articleबालबालिकाको मुद्दाका सवालमा पत्रकारसंग अन्तरक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here