बालबालिकाको मुद्दाका सवालमा पत्रकारसंग अन्तरक्रिया

नेपालगंज । बाँकेको जानकी गाउँपालिकास्तरी बाल क्लब संजाल र पत्रकारबीच आइतबार अन्तरक्रिया गरिएको छ । बाल क्लब संजालले पालिकामा गर्दै आएको कार्यक्रमहरुका बारेमा पत्रकारबीच अन्तरक्रिया गरेको हो ।

संजालले गरिरहेका कार्यहरुलाई प्रभावकारी बनाउन तथा बालबालिकाहरुको संरक्षणका सवालमा बालबालिकाहरुले पत्रकारसंग चासो ब्यक्त गरेका थिए । बालबालिकाले गर्ने कार्यप्रति समुदायमा केही व्यक्ति सकारात्मक भएपनि धेरैले उनीहरुलाई डराउने धम्काउने कार्य भइरहेकाले पत्रकारले पनि यसमा भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको गुनसो छ ।

बाल विवाह, सामाजिक कुरिती र अन्धविश्वासका बिरुद्धमा बाल क्लब संजाल सक्रिय रुपमा गतिविधि गर्दै आएको छ । तर उनीहरुको यस खालको सकारात्मक कार्यमा कानूनको पालना गराउने नेपाल प्रहरीको भूमिका न्यून रहेकाले पत्रकारले यस बिषयमा कलम चलाउनुपर्ने कुरामा चासो ब्यक्त गरेका छन् ।

उनीहरुले सुनाएको कतिपय घट्नामा प्रहरी नै त्यस्ता पहुँचवाला संगको सम्बन्धका कारण बालबालिकालाई धम्की आएका छन् । राज्यका हरेक गलत कार्यका बिरुद्धमा सक्रिय रहने संचार जगत त्यस्ता मिलोमतो गर्ने र बालबालिकालाई धम्की दिने व्यक्तिका बिरुमा कलम चलाउन सके मात्र बालमैत्री समाज निर्माण हुनेमा जोड दिए ।

बाल क्लब संजाल जानकीका अध्यक्ष इमरान भाटले संजालले गरेको कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह भइरहेको भएपनि संचारकर्मीको आवश्यकता रहेको बताउनुभयो । यस्तै वडा नम्बर ६ की बाल क्लबकी अध्यक्ष पुनम मिश्राले क्लबका कार्यमा कतिपय अभिभावक स्वंयले सहयोग गर्ने गरेको बताउँदै समाजलाई अझ राम्रो बनाउनका लागि स्थानीय सरकार, संघसंस्था र पत्रकारको सक्रियता जरुरी भएको बताउनुभयो ।

सामाजिक विकास मंचको सहकार्यमा संजालले गरेको समन्वयात्मक अन्तरक्रियामा वल्र्ड भिजन इन्टरनेशनलका बाँके संयोजक तिलक केसीले बालबालिकाले धेरै सकारात्मक कार्यहरु गर्नुपर्ने र पछिल्लो समय बालबालिकालाई जोखिम बढेकाले यसको नियन्त्रणका सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले बालबालिका राष्ट्रका कर्णधार भएको र आजका बालबालिकाको सोंचको विकास लगायतका कुराहरु राम्रो बनाउन सकिँदा देश निर्माण हुने बताउनुभयो । यसका साथै बालबालिकाहरुको चौतर्फी विकासमा जोड दिन आवश्यक रहेको बताउनुभएको मंचका बाल संरक्षण अधिकृत जनक बहादुर चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा एसडिएफका बाल स्पोन्सरसीप कार्यक्रमका कार्यक्रम संयोजक भिम बहादुर सार्की, बाल क्लब संजालका पदाधिकारी र पत्रकारको उपस्थिति रहेको थियो ।

Previous articleकालो बेसार तथा फलफूल खेतीसम्बन्धी तालिम तथा बिरुवा वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here