
नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले संविधान र राष्ट्रलाई जोगाउने जिम्मेवारी अब कांग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि अझैपनि नेपाली कांग्रेसले सदनमा रेफ्रीको भूमिका निभाउनुपर्छ, संविधानलाई जोगाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ।’
प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा गइसकेपछि नेपाली कांग्रेसले सम्मानित सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने बताउँदै आएको र अदालतको आदेश आइसकेपछि पार्टीले त्यसलाई स्वागत गरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजेको असंवैधानिक बाटोलाई अदालतले रोक लगाएर राष्ट्र र जनतालाई न्याय दिएको पूर्वमन्त्री शाहीको भनाइ छ।
‘अदालतले संसद पुनर्स्थापना गरिसकेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो, तर उनले सहजै राजीनामा दिने संकेत देखिएन,’ कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले भन्नुभयो ‘अब १३ दिनभित्रमा संसद बैठक बस्छ, त्यही बैठकमै प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावको सामना गर्न सक्छन्।’
संसद पुनर्स्थापना हुँदा देश ठूलो दुर्घटना हुनबाट जोगिएको उहाँको भनाइ छ। नेपाली कांग्रेस जिम्मेवार पार्टी भएका नाताले प्रजातन्त्र जोगाउनका लागि ठूलो जिम्मेवारी आएको बताए। ‘अब देशलाई कुन मोडमा लैजाने, त्यसमा कांग्रेसले गम्भीर ढंगले सोच्नुपर्छ,’ उहाँले भन्नुभयो। कांग्रेसले सत्ताका लागि मरिहत्ते नगर्ने तर, मुलुकलाई सही दिशामा अगाडी बढाउनका लागि सत्ताको नेतृत्व गर्न पछाडी नहट्ने नेता शाहीले जोड दिनुभयो।
‘राजनीतिमा प्रतिपक्षमा बस्ने र सत्तामा जाने कुरा सामान्य कुरा हो, तर सत्तामा जानका लागि खराब खालको दृष्टिकोण कांग्रेसले अवलम्वन नगरोस्,’ उहाँले थप्नुभयो । गाउँ गाउँमा अहिले नेपाली कांग्रेसप्रति जनलहर बढेको केन्द्रीय सदस्य शाहीले जिकिर गर्नुभयो ।





