नेपालगञ्ज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषित, नीति बनाउन कार्यदल

नेपालगञ्ज । १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप दिइएपछि नेपालगञ्ज उप–महानगरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले उपप्रमुख मगरलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले पूर्ण खोप सुनिश्चितता तथा दीगोपना निरन्तर हुनुपर्ने भएकाले निश्चित कार्ययोजना बनाइएको बताउनुभयो । नेपालगञ्जमा जन्मेदेखि एकपटक पनि खोप नलगाएका १९ जना बालबालिकाको पहिचान गरि उनीहरुलाई खोप दिइएको छ भने केही खोप लगाएपनि सम्पूर्ण खोप नलगाएका २६३ जना बालबालिकालाई सम्पूर्ण खोप दिइएको छ ।

यसैबीच नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य नीति, ऐन, नियमावली तथा कार्यविधि निर्माणका लागि कार्यदल गठन गरिएको छ ।

नगरको स्वास्थ्य नीति, ऐन, नियम निर्माणका बारेमा शुक्रबार भएको छलफल कार्यक्रममा सामाजिक विकास समितिका संयोजक बशन्ता जोशीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा वडा नम्बर २ का अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्रा, कार्यपालिका सदस्य इन्दिरा शाही, कौसलकुमार धोवी, प्रशासन प्रमुख राजन केसी, लेखा अधिकृत लोकेन्द्र रावत, योजना शाखा प्रमुख भुपेन्द्र वोहरा, कानून शाखा प्रमुख माया शर्मा र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द्र रहनुभएको छ ।

कार्यक्रममा उपप्रमुख उमा थापा मगरले प्रमुख सरोकारवालाहरुसँग समन्वय गरेर कानून निर्माण गरिने बताउनुभयो । स्थानीयका आवश्यकताका आधारमा कानून बनाउनुपर्छ, उपप्रमुख मगरले भन्नुभयो,– कानून कार्यान्वयनमा सहज होस भन्नेतर्फ नीति निर्माताको ध्यान पुग्न आवश्यक छ ।

Previous articleबर्दियामा बाघ आतंक बढेपछि जोखिम क्षेत्रमा प्रवेश बन्द
Next articleडुडुवाको ऐन, नीति र बजेट संशोधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here