
बुटवल । अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनी वायु प्रदूषणको उच्च चपेटामा परेको छ । भैरहवा-लुम्बिनी कोरिडोरमा सञ्चालित दर्जनौं ठूला उद्योगले उत्सर्जन गर्ने धुँवा, धूलोका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र प्रदूषित बनेको हो ।
लुम्बिनी क्षेत्रमा १५ किलोमिटरभन्दा टाढामात्र उद्योग खोल्न पाउने नियम विपरीत १२ किलोमिटरभित्रै उद्योग सञ्चालनमा छन् । यो कोरिडोरमा दर्जन बढी सिमेन्ट उद्योगमात्रै सञ्चालनमा छन् भने छड, इँटा, कागज, खाद्य, सिन्थेटिकलगायतका तीन दर्जन बढी ठूला उद्योग छन् । यसबाहेक लुम्बिनी वरिपरि झण्डै तीन दर्जन इँटा उद्योग छन् । यी इँटा उद्योग पनि प्रदूषणको अर्को कारक हुन् ।
विशेष गरी कोइला प्रयोग र इँटाका चिम्नीबाट निस्किने धुवाँको मुस्लोले वायु प्रदूषण बढाइरहेको छ । ती उद्योगले उत्सर्जन गर्ने कार्बन मोनोअक्साइड ग्याँसका कारण अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी प्रदूषणको चपेटामा परेको हो ।
प्रदूषित वायुमा मिसिएका धातु र सिसाका कणले लुम्बिनीस्थित मायादेवी मन्दिर र अशोक स्तम्भलगायत महत्वपूर्ण पुरातात्विक सम्पदामा समेत असर पर्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनीको बढ्दो प्रदूषणमा त्यहाँका उद्योगबाट निस्कने धुलो-धुँवाको हिस्सा ४८ प्रतिशत, घरायसी प्रयोजन निम्ति बालिने दाउरा, गुइँठाबाट हुने प्रदूषणको हिस्सा ३८ प्रतिशत र बाँकी भारतीय सीमा क्षेत्रका उद्योगबाट उत्सर्जन हुने प्रदूषण रहेको छ ।
लुम्बिनी क्षेत्रका धेरै उद्योगले वातावरणीय व्यवस्थापन प्रणाली अवलम्बन गरेका छैनन् । विगत २५ वर्षदेखिका पुराना र नयाँ उद्योगले वातावरणीय प्रभावलाई कम गर्न पहल गरेको दाबी गरे पनि त्यो व्यवहारमा लागू भएको छैन ।
यहाँका उद्योगका लागि चाहिने अधिकांश कच्चा पदार्थ भारतबाट दैनिक सयौँ गाडीमा ल्याइन्छ । एकातिर तिनै गाडीको धुवाँ र धुलो अनि उद्योगबाट निस्कने धुँवाले पनि लुम्बिनीमा प्रदूषण बढिरहेको छ ।
सिमेन्ट कारखानाको लागि चाहिने चुन तथा खरानी बोक्ने गाडीले धुलो उडाउँदै ल्याउँछन् । स्थानीयका अनुसार उद्योगबाट दिउँसोभन्दा राति कालो धुवाँ निस्कने गरेको छ । पहिला ८ घण्टा चल्ने उद्योग दैनिक अहिले १८ घण्टासम्म चल्दा प्रदूषण झन् बढेको छ । प्रदूषणबाट लुम्बिनी घुम्न आउने विदेशी र आन्तरिक पर्यटक संगै स्थानीय बासिन्दा पनि प्रभावित भएका छन् ।
वर्षौंदेखि सञ्चालनमा रहेका यी उद्योगबाट निस्कने धुलो धुवाँले पर्यटक र स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । तर प्रदूषण रोक्न सरोकारवाला निकाय मौन छन् ।
लुम्बिनी क्षेत्रमा सोमबार वायु गुणस्तर सूचकांक (एक्यूआई) सरदर १८४ रहेको प्रदेश वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले बताउनुभयो । प्रदूषणको यो मात्रा मानव स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुको भनाइ छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनी क्षेत्रलाई वायु प्रदूषणको असरबाट मुक्त बनाउन स्थानीय सरकार एक्लैले नसक्ने हुँदा संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।
द स्टेट अफ ग्लोबलको रिपोर्ट अनुसार वायु प्रदूषणका कारण नेपालमा सन् २०१९ मा १७ हजार ९०० जनाको र सन् २०२० मा ४२ हजार १०० जनाको मृत्यु भएको छ ।
प्रदूषित पानीका कारणभन्दा वायु प्रदूषणका कारण मानिसको मृत्यु हुने दर धेरै रहेकाले यसलाई सामान्य समस्यामा रुपमा लिनु नहुने वातावरणविद् चौधरीको सुझाव छ । वायु प्रदूषण उच्च हुने मुलुकमध्ये नेपाल दशौं स्थानमा रहेको उहाँले बताउनुभयो । अनलाईनखबर





