
नेपालगन्ज । लोकतन्त्रवादी पत्रकारको साझा संगठन नेपाल प्रेस युनियनले आज ३१ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा युनियनले भर्चुअल प्रविधीमार्फत कार्यक्रम गरेर मनाएको हो ।
यता युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले पनि स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना दिनुभएको छ । २०४८ साल जेठ १३ गतेका दिन प्रेस युनियनको स्थापना भएको थियो । श्रमजीवी पत्रकारको पक्षमा वकालत गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
लोकतान्त्रिक शासन ब्यवस्थामा मात्रै प्रेस स्वतन्त्रता सम्भव छ, प्रेस स्वतन्त्रतामा मात्रै ब्यवसायिक पत्रकारिता फस्टाउँछ र ब्यवसायिक पत्रकारिता फस्टायो भने मात्र पत्रकारहरुको रोजीरोटीको सुनिश्चतता हुन सक्छ, भन्ने मान्यताका साथ युनियन स्थापना भएको हो ।
पञ्चायती ब्यवस्थाको अन्त्यसँगै नेपाली जनताले राजनीतिक आस्था तथा विचार एवम् वर्ग तथा पेशागत रुपमा विभिन्न संघ, संगठनहरु खुल्ने क्रम सुरु भयो । त्यसैक्रममा नेपाल प्रेस युनियन स्थापना भएको थियो ।
प्रेस युनियन स्थापना हुदाँका दिनसम्म मुलुकमा ब्यवसायिक पत्रकारिताको सुरुवात भईसकेको थिएन् । पञ्चायती शासन ब्यवस्था ढालेर बहुदलिय प्रजातान्त्रिक शासन ब्यवस्था स्थापना गर्ने मिसनमा पत्रकारिता गरिरहेका केही अग्रज पत्रकारहरु मिलेर नेपाल प्रेस युनियनको जन्मदिएका थिए ।
दोस्रो चरणको कोरोना भाईरस महामारीका कारण अहिले पत्रकार तथा सिंगो सञ्चार क्षेत्र प्रभावित भइरहेको अवस्थामा यसबाट मुक्त भएर लोकतन्त्र, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्न हामी सबैलाई प्रेरणा मिलोस्, भनि जिल्ला अध्यक्ष ओलीले युनियन बाँकेमा आवद्ध सम्पुर्ण पत्रकार तथा सञ्चारकमीलाई शुभकामना दिनुभएको छ ।
दिवसको सन्दर्भमा युनियन बाँकेले कोरोना भाईरसबाट संक्रमित भएका, संक्रमण पश्चात निको भई पूर्ण स्वास्थ्य लाभ गरिरहेका र महामारीको उच्च जोखिममा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई भेटघाट अभियान गरिरहेको छ ।
युनियन बाँकेले सुरु गरेको उक्त अभियान अन्तर्गत मंगलबार र बुधबार नेपालगन्ज तथा कोहलपुरका पत्रकार र सञ्चारकर्मीलाई भेटघाट गरी स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
‘भेटघाट अभियान अन्तर्गत महामारीमा चलिरहेका सञ्चार संस्था (एफ.एम. रेडियो) र कतिको घरमा पनि पुग्यौं, कोरोना महामारीका बेला सञ्चार संस्थामा पत्रकार तथा सञ्चारकर्मीले कसरी काम गरिरहनु भएको छ ? उहाँहरुका समस्या र कठिनाई के–कस्ता छन्, त्यो बुझ्ने काम भयो र केही सल्लाह सुझाव पनि दिइयो,’ उहाँले भन्नुभयो ‘संक्रमित हुनु भएका ब्यक्तिको स्वास्थ्यमा क्रमिक रुपले सुधार आइरहेको छ, जोखिमपुर्ण समयमा पनि सञ्चारको कर्म गरिरहनु भएका साथीहरुलाई यो महामारीमा विशेष सावधानी अपनाउन आग्रह गरियो, उहाँहरुको स्वास्थ्य सुरक्षाका लागि केही स्वास्थ्य सामाग्री पनि प्रदान गर्यौं ।’
महामारीबाट प्रभावित भएका र महामारीको उच्च जोखिममा रहेका पत्रकार तथा सञ्चारकर्मीका लागि प्रेस युनियनले थालेको अभियान अझै जारी रहने सचिव विजय मल्लले जानकारी दिनुभयो । ‘कोरोना महामारीका बेला कुनै समस्या वा अप्ठ्यारोमा परेको भए अथवा स्वास्थ्य सम्बन्धी सल्लाह र परार्मशका लागि हामी समन्वयकारी भुमिका निभाउन तयार छौं,’ मल्लले भन्नुभयो ।





