
दुल्लु । कोरोना भाइरस संक्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका २ का वडा सदस्य तेजबहादुर थापाको बिहीबार बिहान मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमण भएपछि उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका सुपरिटेण्डेण्ट प्रकाश थापाले बताउनुभयो ।
यस्तै, दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ छ । रासस





