
नेपालगञ्ज । मानव बेचबिखन नियन्त्रणका लागि नेपालगञ्ज उप–महानगरपालिकाका सबै वडासम्म संयन्त्र निर्माण गरिने भएको छ ।
मानव बेचबिखन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसँगको बार्षिक समीक्षा र योजना बैठक आईतबारदेखि नेपालगञ्जमा सुरु भएको छ ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सम्पूर्ण वडा तहसम्म समिति गठन गरेर अघि बढ्ने योजना रहेको बताउनुभयो ।
उहाँले विगतको कामको समीक्षा गर्दै भावी कार्ययोजना बनाइने जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले मानव बेचबिखन नियन्त्रणका लागि टोलस्तर सम्म प्रभावकारी संयन्त्र निर्माण गरि अघि बढ्न खोजिएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति तथा युएस एड, विनरक इन्टरनेशनल, माइती नेपाल र युकेएडको संयुक्त समन्वय सहकार्यमा आयोजना भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव तथा मानव बेचबिखन नियन्त्रणको अभियानमा सहभागी संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको छ ।
सामाजिक विकास समितिका संयोजक वशन्ता जोशीको अध्यक्षतामा भएको कार्यक्रममा माईती नेपालका केशव कोइराला, अधिकारकर्मी कमला पन्त, महिला विकास अधिकृत मञ्जु पाण्डे लगायतले विभिन्न विषयमा सहजिकरण गर्नुभएको छ ।
मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन मुलुककै पहिलोपटक नेपालगञ्जले कार्यविधि बनाएको छ । कार्यविध अनुसार वडास्तरमा समिति गठन लगायतका काम भईरहेको छ ।





