विद्यार्थी भर्नाबारे विवाद हुँदा विद्यालयभित्र लाठी हानाहान, १९ जना घाइते

जनकपुरधाम । रौतहटको माधवनारायण नगरपालिका-४ स्थित विसुनपूर्वामा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका छन् ।

स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावक पक्षबीच आइतबार दिउँसो विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ । बाँकी घाइतेहरूको अवस्था समान्य रहेको गरुडाका डिएसपी श्रीराम भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृत्यु भएपछि नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक रामकलेश्वर मुखिया र प्रधानाध्यपक राजेश राय यादवबीच विवाद भएको थियो ।

‘विद्यालय सञ्चालान नगरे पनि खोल्ने, विद्यार्थी भर्ना गर्ने निर्णय भएको थियो । त्यसैबीचमा केही अभिभावकले आफ्नो बच्चालाई भर्ना गराउन फर्म भरेर लिएर आएका थिए,’ उहाँले भन्नुभयो, ‘तर कुनै फारममा फोटो नमिलेको, अभिभावकको सही नभएको भनेर प्रधानाध्यापकले भर्ना लिन नमानेपछि विवाद भएको थियो ।’

झगडा गर्ने दुबै पक्षका मुख्य एक-एक जनालाई नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताउनुभयो । झडप भएका दुबै पक्षबीच अहिले इलाका प्रहरी कार्यालय गरुडामा छलफल चलिरहेको छ । सेतोपाटीबाट

Previous articleमुलुककै पहिलो कार्यविधि बनाएको नेपालगञ्जमा मानव वेचबिखन नियन्त्रणको संयन्त्र बन्ने
Next articleलुम्बिनीमा बढ्यो कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here