उमेर नै नपुगि बिवाह, डुडुवा ५ का ११ प्रतिशत किशोरी २० वर्षअघि नै आमा

रमेशकुमार यादव । कम्दी
सरकारले विवाहको उमेर २० वर्ष तोकेको छ । नेपालको कानून अनुसार उमेर नपुगेर गरिने विवाहलाई बाल विवाह मानिन्छ ।

बाल विवाह गरेको वा गराएको भेटिए अभिभावकसहित पुजारी, लमी वा पण्डितलाई समेत कारवाही हुने कानूनमा उल्लेख छ । तर नेपाल सरकारले बनाएको नियम नै उल्लघंन भइरहेको देखिएको छ । सरकारले निर्माण गरेको कानून कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी स्थानीय सरकारको भएपनि स्थानीय सरकार पनि यो बिषयमा बेखबर छ ।

एकातिर सानैमा विवाह गर्नुहुँदैन भनेर गाउँ घरमा सचेतनामुलक कार्यक्रमहरु गरिँदै आएको छ भने अर्कोतर्फ उमेर नै नपुगेर बाल विवाह गर्नेहरु गर्भवती बनिरहेको देखिएको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । तर यही वडामै थुपै्र किशोरीहरु आमा बनेको तथ्याँक सार्वजनिक भएको छ । वडामा मात्र ११ प्रतिशत आमा बनेकाहरु २० वर्षमुनि रहेको देखिएको हो ।

डुडुवा गाउँपालिका यस वडामा २०७७ असारदेखि २०७८ असार मासन्तसम्म एक वर्षको अवधिमा एक सय ५३ महिला गर्भवती भएकोमध्ये १७ जना २० वर्षमुनि रहेको कम्दी स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव वीरबहादुर पुनले जानकारी दिनुभयो ।

जम्मा गर्भवतीमध्ये २० वर्षमुनिका गर्भवती ११.११ प्रतिशत हुन आउँछ । यस वडामा धेरै गाउँ टोलहरु रहेपनि सबैभन्दा बढी डलैपुरका ९ जना, बालापुरका २ जना, कम्दी मिलान चोक, छग्रहवा, तिलकपुर, बाहुन बगैचा, जब्दहवाका एक एक जना रहेको कम्दी स्वास्थ्य चौकीले जनाएको छ ।

बाँकेमा एकातर्फ वडा, पालिकालाई बाल विवाह मुक्त घोषणा गरिँदैछ भने अर्कोतर्फ सानै उमेरका किशोरीहरुको विवाह भइरहेको देखिन्छ । नेपाल सरकारले बनाएको कानून कार्यान्वयन गर्ने स्थानीय सरकार स्थानीय (तह) को जिम्मेवारी भएपनि कानमा तेल हालेर आफ्ना जनतालाई आकालमा मृत्युको मुखमा धकेल्ने काम गरिरहेको छ ।

उमेर नपुगि गरिने विवाहले स्वास्थ्यमा समस्या निम्त्याउँछ भने सानै उमेरमा गर्भवती हुँदा आमा र बच्चामा जोखिम बढि हुन्छ । यसले मातृ मृत्युदरमा समेत बृद्धि हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

Previous articleआज रक्षा बन्धन, सजियो बजार, लोभ्याउँदै राखी र मिठाई (फोटो फिचर)
Next articleजापानले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुग्यो

1 COMMENT

  1. बाल बिवाह गर्दा बच्चा को जन्मदर्ता? बिवाह दर्ता? त्यो समाचार आवस!

Leave a Reply to Meklal Cancel reply

Please enter your comment!
Please enter your name here