
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले फरक पार्टीमा आस्था राखेकै कारण सिफारिसबाट बञ्चिन गरेका व्यक्तिले गाउँपालिकाबाट सिफारिस पाएका छन् ।
जानकी गाउँपालिका वडा नम्बर २ बेलभारस्थित शिव शक्ति कृषक समुहका अध्यक्ष पवन कुमार विश्वकर्मालाई गाउँपालिकाले टिप्पणी उठाएर सिफारिस दिएको हो ।
६ दिन कार्यालयमा पुग्दा समेत वडाअध्यक्ष गुप्ताले प्रक्रिया पुर्याएको सिफारिस समेत नदिएर अनावश्यक दुःख दिनुभएको थियो ।
‘कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनामा सुचिकृत गर्नको लागि मैले उहाँ वडाध्यक्षसँग सिफारिस लिन गए, उहाँले त विपक्षी होस्, मलाई भोट पनि दिएनस् भन्दै सिफारिस दिन मान्नु भएको थिएन पालिकाले दियो खुसी छु ।’
नेकपा माओवादीबाट निर्वाचित वडाअध्यक्ष गुप्ताले माओवादी बाहेक अन्य पार्टीका कार्यकर्ताहरुलाई सिफारिसबाट बञ्चित गर्ने गरेको गुनासो समेत आइरहेको छ ।
स्थानीय सरकार कार्यसञ्चालन ऐन, २०७४ ले सबैभन्दा तल्लो तहमा रहेको वडापालिकालाई धेरै अधिकार दिएको छ । वडाअध्यक्षले वडा तहमा बसेर जनतालाई आवश्यक पर्ने सिफारिस गर्नुपर्छ । ऐन अनुसार त्यस्तो सिफारिस गर्दा वडाअध्यक्षले कसैलाई पनि भेदभाव गर्न पाईदैन ।
तर, वडाअध्यक्ष गुप्ताले फरक पार्टीमा आस्था राखेकै कारण सिफारिस नदिएको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारलाई समेत आक्रमण गराइयो ।
उक्त घटनाको चौतर्फी भत्र्सना भएको छ । केही पत्रकारलाई कव्जामा राखेका गुप्ताले उनीहरुकै आडमा समेत स्थानीयलाई धम्क्याउने र सेवासुविधाबाट बञ्चित गर्ने गरेको पाइएको छ ।
चाकडी गर्ने पत्रकारलाई गुप्ताले खर्च खराव समेत दिने गरेको बुझिएको छ । आफ्नो बिषयमा चाकडी नगर्ने पत्रकारलाई गुप्ताले सूचना नदिने, धम्क्याउनेदेखि अनेक हतकण्डा अपनाउने गरेको पत्रकारहरु बताउँछन् ।





