
बर्दिया । भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सिकाइ सुधार परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका तथा बारबर्दिया नगरपालिकाका ८ वटा परियोजना विद्यालयका लागि ११ लाख २८ हजार ८ सय ७५ रूपैयाँ बराबरकाे स्मार्ट बोर्ड तथा गणित विषयको प्रयोगशाला सञ्चालनका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।
उक्त सामग्री भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) का संस्थापक गोपालनाथ योगी तथा प्लान इन्टरनेशनल नेपालका शिक्षा प्राविधिक सल्लाहकार शान्ति थापाले ठाकुरबाबा नगरपालिकाका शिक्षा निर्देशक रामहरि रिजाल, शिक्षा शाखा प्रमुख सीता भण्डारी, शिक्षा सुपरिवेक्षक नवराज ढंगाना तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा शिक्षा निर्देशक रिजालले प्लान नेपाल र बी-ग्रुपले शिक्षाको क्षेत्रमा गरेको उल्लेखनीय लगानी र निरन्तर सहयोगको प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो । उहाँले यस परियोजनाले विद्यालयमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन, प्रविधिमैत्री शिक्षण वातावरण निर्माण तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । आगामी दिनमा पनि यस्ता सहकार्य र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि पनि सिकाइ सुधार परियोजनामार्फत शिक्षकहरूको गणित र विज्ञान विषयमा विषयगत पेशागत क्षमता अभिवृद्धि तालिम, विपन्न तथा सीमान्तकृत बालबालिकालाई शैक्षिक सामग्री वितरण, अभिभावक शिक्षा सत्र सञ्चालन, अभिभावक-शिक्षक अन्तरक्रिया तथा बैठक, प्रधानाध्यापक समीक्षा बैठक, उपचारात्मक (रिमिडियल) कक्षा सञ्चालन, स्मार्ट बोर्ड सञ्चालन सम्बन्धी क्षमता विकास तालिम लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

ती गतिविधिहरूले विद्यालयमा प्रभावकारी शिक्षण सिकाइ वातावरण निर्माण गर्न तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएको परियोजनाले जनाएको छ । हस्तान्तरण गरिएका सामग्रीमा स्मार्ट बोर्ड तथा गणित विषयको प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन आवश्यक विभिन्न गणित प्रयोगशाला सामग्री समावेश छन् ।
यी सामग्रीले विद्यालयमा प्रविधिमैत्री, सहभागितामूलक तथा प्रयोगात्मक शिक्षण सिकाइ वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सिकाइ सुधार परियोजनाले शिक्षक क्षमता विकास, उपचारात्मक कक्षा सञ्चालन, सूचना तथा सञ्चार प्रविधिको एकीकरण, गणित प्रयोगशाला स्थापना तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न सहयोग गर्दै आएको छ । यस सहयोगबाट परियोजना विद्यालयहरूमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा थप सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।







