गुणस्तरीय विकासमा प्रदेश सरकारको जोड : मन्त्री खत्री

बाँके । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले प्रदेश सरकारले पूर्वाधार विकासका कामलाई गुणस्तरीय, दिगो र प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट खर्च गर्ने मात्र नभई त्यसबाट नागरिकले दीर्घकालीन लाभ लिन सक्ने गरी कामको गुणस्तरमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो ।

बाँकेको बैजनाथ गाउँपालिका–६ गररहीमा आइतबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री खत्रीले सडक पूर्वाधार निर्माणको काम गुणस्तरीय बनाउन सरकारसँगै स्थानीय बासिन्दाको समेत महत्वपूर्ण भूमिका हुने बताउनुभयो । निर्माणाधीन तथा नयाँ बन्ने सडकको गुणस्तरका विषयमा स्थानीय नागरिकले पनि चासो र खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।

“सडक पूर्वाधारको काम गुणस्तरीय बनाउन स्थानीयबासिन्दा समेत सचेत हुन आवश्यक छ,” मन्त्री खत्रीले भन्नुभयो, “सरकारले विकास निर्माणका लागि लगानी गर्छ, तर निर्माणको गुणस्तर र त्यसको प्रभावकारिताका विषयमा स्थानीय तहदेखि नै निरन्तर निगरानी र खबरदारी आवश्यक हुन्छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले सडक पूर्वाधारका योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउने गरी तयारी गरिरहेको बताउँदै उहाँले योजना कार्यान्वयनमा अनावश्यक ढिलाइ हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बजेट तथा कार्यक्रम स्वीकृत भएका योजनालाई आवश्यक प्रक्रिया पूरा गरी समयमै कामको सुरुवात गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री खत्रीले प्रदेश सरकार मातहतका सडक पूर्वाधार कार्यालयलाई निर्माणाधीन आयोजनाको नियमित अनुगमन गर्न, निर्माण व्यवसायीलाई आवश्यक सहजीकरण गर्न तथा गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिइएको बताउनुभयो ।

यसैबीच मन्त्री खत्रीले आइतबार नै बर्दिया जिल्लामा निर्माणाधीन विभिन्न सडक आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले जिल्लाका विभिन्न स्थानमा पुगेर निर्माणाधीन सडकको अवस्था, प्रगति, निर्माणको गुणस्तर तथा स्थानीयस्तरमा देखिएका समस्याबारे जानकारी लिनुभएको थियो ।

निरीक्षणका क्रममा सडक पूर्वाधार कार्यालय बर्दियाका प्रमुख हेमन्त रोकाले जिल्लामा सञ्चालन भइरहेका सडक आयोजनाको अवस्था, निर्माण प्रगति तथा देखिएका समस्याका विषयमा मन्त्री खत्रीलाई जानकारी गराउनुभएको थियो । उहाँले कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको प्रगति र आगामी कार्ययोजनाबारे समेत जानकारी दिनुभएको थियो ।

त्यस अवसरमा बाँसगढी नगरपालिकाका पूर्व नगरप्रमुख शालिकराम अधिकारीलगायत स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासिन्दाले पनि निर्माणाधीन सडकको अवस्था र स्थानीयस्तरमा देखिएका समस्याका विषयमा मन्त्री खत्रीलाई जानकारी गराउनुभएको थियो ।

Previous articleगुणस्तरमा सम्झौता नगर्न कार्यालय प्रमुखलाई मन्त्री खत्रीको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here