माधवरामको त्याग र निष्ठा र साधारण जीवन शैली

कोहलपुर । नेपाली समाजमा पढेलेखेका व्यक्ति धेरैजसो जागिर खाने सोचमा हुन्छन् । जागिर खाएर टन्न पैसा कमाउने र त्यसपछि राजनीति वा समाजसेवाको बाटोलाई रोज्ने प्रवृत्ती नै बसिसकेको छ ।

तर, यही समाजमा यस्ता व्यक्ति पनि छन, जसले पढेर जागिर होईन, आफ्नो सम्पूर्ण जीवन राजनीति राजनीतिमा व्यतित गरिरहेका छन् । यस्तै मध्येका एक उदाहरणीय ब्यक्तित्व हुन, माधवराम खत्री ।

जसले पढेर जागिर खाने र सुविधाजनक हिसाबले बस्ने सोच कहिल्यै राख्नुभएन । माधवरामले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदान अरुका लागि पनि प्रेरणादायी बनेको छ । फलस्वरुप, उहाँ नेपाली कांग्रेसको कुशल संगठनकर्ताको रुपमा स्थापित नै भइसक्नुभएको छ ।

दाङको गोल्टाकुरीमा २०२७ साल मंसिर ५ गते जन्मिनुभएका माधवरामले कर्मथलो भने बाँकेलाई नै बनाउनुभयो । राज्यको हरेक सेवा सुविधाबाट बञ्चित रहेको बाँकेको क्षेत्र नम्बर १ बाट उहाँले त्याग र निष्ठाको राजनीति गर्न ठुलै संर्घष गर्नुपर्यो ।

२०४३ सालमा बाल मितेरी माध्यामिक बिद्यालय भोजपुर दाङमा कक्षा ९ बाट बिद्यार्थी राजनीतिमा छिर्नुभएका उहाँलाई राजनीतिको नसाले छोएपनि पढाई रोकिएन । राजनीति र समाजसेवा एक अर्काका परिपुरक हुन भन्ने मान्यता बोक्नुभएका उहाँले करिव दुई दशक अघि नै स्नातकोत्तर तह (एम.बिए) उर्तीण गर्नुभएको छ ।

माधवरामसँगै पढेका धेरै जना ब्यक्ति अहिले सरकारी उच्च पदमा छन् । तर, उहाँ कांग्रेसको संगठन बनाउन कै लागि चारतारे झण्डा बोकेर गाउँ गाउँमा पस्नुभयो । बाँकेको साविक खासकुश्मा गाउँ विकास समिति वडा नम्वर ५ (भम्का) हाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का स्थायी बासिन्दा माधवराम राजनीतिमा यसरी सक्रिय हुनुभयो, नेपाली काँग्रेसको विभिन्न भातृ संगठनमा आवद्ध हुदै पार्टीको मुल राजनीतमा स्थापित हुनुभयो ।

बिद्यार्थी राजनीतिका क्रममा उहाँ २०४५ सालमा नेपाल बिद्यार्थी संघको दाङ–नेपालगन्ज सम्पर्क समितिको सचिव भएर काम गर्नुभयो । २०४६ सालको जनआन्दोलनमा भुमिगत भएर बहुदल प्राप्तिका लागी आन्दोलनमा सक्रिय हुनुभएको थियो ।

२०४८ सालमा झापामा नेपाली काँग्रेसको महाधिवेशनमा पर्यवेक्षकको रुपमा सहभागी हुनुभएको थियो । २०४९ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य भएर तत्कालिन महादेवपुरी गाविसको टिकट वितरण गरी निर्वाचन जिताउनुभयो । २०५० सालमा नेपाल बिद्यार्थी संघ बाँकेको अध्यक्षमा उहाँ निर्वाचित हुनुभयो ।

नेविसंघको कार्यकाल सफलता पुर्वक सम्पन्न गरेपछि भने उहाँ पार्टीको मुल राजनीतिमा छिर्नुभएको हो । पटक–पटक महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यमा उहाँको अनुभव छ ।

पार्टीको १२ औं र १३ औं महाधिवेशनबाट २ पटक बाँके क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिमा निर्वाचित भएका माधवरामले राजनीतिका क्रममा कुनैपनि लाभकारी पद लिनुभएन । पार्टी संगठनलाई बलियो बनाउनमै उहाँले आफ्नो समय खर्चिनुभयो ।

नेपाली काँग्रेस पटक–पटक सरकारमा गएपनि उहाँ पार्टीकै काममा सक्रिय हुनुभयो । यसले उहाँको राजनीतिलाई झन् निखारता ल्यायो । राजनीतिमा उहाँले धेरै त्याग गर्नुभयो ।

उहाँ विधि, विधान र नियम कानुनभन्दा बाहिर गएर कहिल्यै काम गर्नुहुन्न र अरुलाई पनि गर्न दिनु हुन्न, यो उहाँको मुख्य विशेषता हो । माधवरामको साधारण जीवन शैली, त्याग र निष्ठाबाट आम कार्यकर्ता पनि प्रभावित छन् । जसले गर्दा उहाँ राजनीतिक उचाई झन् लम्किरहेका छन् ।

पार्टीभित्र उहाँको कुसल नेतृत्व क्षमता, इमान्दारिता, लगनशिलता भएका कारण आम कांग्रेस कार्यकर्ताले उहाँको मुल्यांकन गरिरहेका छन् । ‘मैले अहिलेसम्म कुनैपनि लाभकारी पद लिएको छैन, सधै पार्टीकै काममा बिताए, पार्टी संगठनलाई विस्तार गर्ने काममै सक्रिय भएर लागे, मैले पार्टीमा कति योगदान गरेको छु वा छैन त्यो कुराको मुल्यांकन मेरा आदरणीय नेता कार्यकर्ताले गर्नु भएकै होला,’ उहाँले भन्नुभयो ।

माधवरामको राजनीतिमा जति लगानी छ, त्यतिकै योगदान सामाजिक क्षेत्रमा पनि छ । तर, उहाँले आफ्नो प्रचार नै त्यति गर्नुहुन्न । काम गरेर परिणाम ल्याउने, त्यति प्रचार नगर्ने उहाँको स्वभाव छ । त्यसकारण उहाँले गरेका धेरैजसो काम बाहिर आउँदैन ।

कार्यकर्तालाई गफ दिने, ढाँट्ने, ठग्ने उनको बानी छैन । माधवराम जे बोल्नुहुन्छ, त्यो काम गर्नुहुन्छ र जे काम गर्न सक्नहुन्न, त्यो कुरा मात्र बोल्नुहुन्न । उहाँको कामलाई तल्लो स्तरका नेता, कार्यकर्ताले मात्र प्रत्यक्ष अनुभुती गर्छन् ।

‘पार्टीभित्र त्यस्ता मान्छेहरु पनि छन, जसले अरुले गरिदिएको कामको आफुले गरेको भनेर प्रचार गर्छन्, तर माधवराम आफैले गरेका कामको पनि प्रचार गर्दैनन, उहाँको कति योगदान छ भन्ने कुरा त हामीले मुल्यांकन गरिरहेका छौं,’ कार्यकर्ता भन्छन् ।
बाढी पीडित, सुकुम्बासी, भुमिहिन, मुक्त कमैयाका समस्या समाधानका लागी उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निभाएको भूमिका अविष्मरणीय रहेको कार्यकर्ता सम्झिन्छन् ।

माधवरामले क्षेत्र नम्बर १ मा थुप्रै पटक बाढी पीडित, सुकुम्वासी, भुमिहिन तथा थारु बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिसक्नुभएको छ । बाढीको बिपत्ती, महामारी, आगलागी घटनामा पीडितको औषधी उपचारका साथै विभिन्न राहत तथा क्षतिपुर्ती वितरणका लागि सरकारी तथा गैर सरकारी निकायमा समन्वय गर्नेदेखि आफै पुगेर पीडामा मल्हम लगाउने काम गर्नुहुन्छ, उहाँ । ‘हामीले राजनीति मात्र गर्ने होईन, कार्यकर्ता र जनताका पीरमर्का पनि बुझिदिनुपर्छ,’ माधवराम भन्नुहुन्छ ।

आफ्नो क्षेत्रको शिक्षालाई माथी उठाउन माधवरामले गरेको योगदान अविष्मरणीय छ । गाउँमा बिद्यालय नहुँदा साविक खासकुश्मा–५ भम्का गाउँमा रहेको गरिव, विपन्न तथा सिमान्तकृत समुदाय ९खुना०का छोराछोरीहरु बर्खायामको समयमा डुंगा तरेर वारीपारी गर्नुपर्ने बाध्यता थियो । नदी वारपार गर्ने बिद्यार्थीको अवस्था देखेर माधवरामले भम्का गाउँमै हरिशिद्ध प्राथमिक बिद्यालय स्थापना गराउनुभयो ।

‘माधवरामले गाउँमै स्कुल स्थापना गरिदिएपछि गरिव, विपन्न तथा सिमान्तकृत समुदायका छोराछोरीलाई धेरै राहत भएको थियो, यसबाट उनीहरु कक्षा ५ सम्म आफ्नै गाउँमा पढेर माथिल्लो कक्षा पढ्न गाउँ बाहिरको स्कुल जान पाएका थिए,’ भम्का गाउँका स्थानीय बासिन्दा भन्छन् ।

माधवरामको योगदान यतिमा मात्र सिमित छैन । राप्तीसोनारीको वडा नम्बर १ कुसुममा रहेको कुसुमेश्वर उच्च माध्यामिक बिद्यालयमा कक्षा १२ सम्मको पढाई सञ्चालन गर्न व्यवस्थापन समितिलाई निकै हम्य–हम्य परिरहेको थियो । बिद्यालयमा कक्षा १२ सम्मको अनुमती लिन स्नातकोत्तर तह उर्तीण गरेको स्थानीय व्यक्तिको शैक्षिक प्रमाणपत्र चाहिने भयो ।

त्यतिबेला यिनै माधवराम आफ्ना सम्पुर्ण शैक्षिक प्रमाणपत्र सम्बन्धित निकायमा पेश गरेर कुसुममा उच्च मावि सञ्चालन गर्न ऐतिहासिक काम गर्नुभएको थियो । माधवरामकै योगदानका कारण अहिले उच्च शिक्षाका लागि त्यस क्षेत्रका बिद्यार्थी बाहिर जानु परेको छैन ।

त्यति मात्र होईन, उक्त बिद्यालयका लागि माधवरामको परिवारले १४ विघा जग्गा दान दिएको छ । उहाँका पिताले दान दिएको जग्गाको आम्दानीबाट दशकौं अघिदेखी निजी स्रोतका शिक्षकलाई तलब खुवाउनेदेखी बिद्यालयको हरेक समस्या टार्ने गरिन्छ ।

आफ्नो घर खर्च चलाउनलाई माधवरामलाई पैतृक सम्पत्तीले पुगेकै छ । त्यसकारण उहााले राजनीतिलाई कमाउने माध्यम कहिल्यै बनाउनुभएन । बरु अप्ठ्यारोमा परेका ब्यक्ति र संस्थालाई सहयोग र दान गर्नुहुन्छ ।

माधवरामले बाँके, क्षेत्र नम्बर १ अन्तर्गत पर्ने कोहलपुर, राप्तीसोनारी र नरैनापुरका विभिन्न ठाउँमा पुर्वाधार विकासको काममा पनि अगुवाई गर्दै आउनुभएको छ । आफ्नो क्षेत्रमा बिद्युत, सडक, नाला, पक्की पुल, झोलुंगे पुल जस्ता भौतिक पुर्वाधार निर्माण गर्न, वन्यजन्तुको क्षति नियन्त्रणका लागि सम्बन्धित निकायमा पहल गर्नुका साथै आफ्ना कार्यकर्ताको सुख, दुःखमा उहाँले दिनरात साथ दिईरहनुभएको छ ।

राप्तीसोनारीको बैजापुर कुम्भरदेखी भम्का हुदै दाङको कालाकाटेसम्म जोड्ने हुलाकी सडक निर्माणका लागी उहाँले जिल्लादेखी केन्द्रसम्म धेरै पटक धाउनुभएकाृ थियो । फलस्वरुप, उक्त सडक अहिले निर्माणाधिन अवस्थामा छ । ‘यो सडकका लागी मैले धेरै पटक मन्त्री र सचिव कहाँ धाएको थिए, त्यो सक्रियताले सडक बन्ने कामको सुरुवात भएको छ,’ उहाँ सम्झनुहुन्छ ।

यस्तै राप्ती सोनारी २ कचनापुरदेखी कम्दी जोड्ने सडक निर्माणमा पनि खत्रीको योगदान प्रशंसनीय छ । ‘कचनापुरबाट कम्दी जोड्ने यो सडक निकै छोटो दुरिमा छ, यसले ग्रामिण क्षेत्रका जनतालाई राहत मिलेको छ ।’

बाढी पीडितलाई समान रुपले राहत वितरण, अव्यवस्थित बसोबासको व्यवस्थापन, नरैनापुर र राप्तीसोनारीमा बिद्युतीकरण गर्न माधवरामले पहल गर्दै आउनुभएको छ । ‘अहिले सम्म मैले राजनीतिक दलको नेताको हैसियतले यति कामहरु गरेको छुँ,’ उहाँ भन्नुहुन्छ, ‘पार्टी संगठनलाई अझ चुस्त र अझ चलायमान बनाउन यसपटक मलाई पुनः क्षेत्रीय सभापतिमा निर्वाचित गराउन म सबैलाई हार्दिकता पुर्वक आग्रह गर्दछु ।’

आफ्ना कार्यकर्तालाई दुःख पर्दा माधवराम खुलेरै साथ दिनुहुन्छ । पार्टीको काम र समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप नेपाली काँग्रेसले उनलाई अघिल्लो प्रतिनिधी सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बनाएको थियो ।

उक्त निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र मिल्दापनि माधवरामले थोरै मत अन्तरले हार ब्यहोर्नु परेको थियो । त्यतिबेला पार्टीभित्रैका ब्यक्तिले गरेको अन्तर्घातको पीडा उहाँलाई अहिले पनि छ ।

पार्टीलाई अप्ठ्यारो परेको बेला र फरक पार्टीसँग लड्नुपर्ने बेलामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउने अन्र्तघातीलाई यस पटक कार्यकर्ताले राम्ररी मुल्यांकन गर्नुपर्ने माधवराम बताउनुहुन्छ । प्रतिनिधी सभा चुनाव हारेपनि पार्टीको काममा भने उहाँ कहिल्यै थाक्नुभएन । बरु उत्तिकै जोश र जाँगर छ ।

माधवराम भन्नुहुन्छ, ‘क्षेत्र नम्बर १ मा पार्टीका लागि मैले गरेको योगदानको मुल्यांकन स्वयं कार्यकर्ताले गर्नु भएकै छ, त्यसकारण मलाई एक चोटी क्षेत्रीय सभापतिको जिम्मेवारीमा पुर्याउनु हुनेछ भन्नेमा म आशावादी छु ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर १ को निर्वाचनमा सभापति पदका लागि उहाँले बुधबार उम्मेदवारी दर्ता गराउनुभएको छ । माधवरामले क्षेत्र नम्बर १ मा यसपटक ह्याट्रीक गर्ने निश्चित भइसकेको कांग्रेस नेता, कार्यकर्ता बताउँछन् ।

Previous articleप्युठानमा कांग्रेस मतगणनास्थलमा गोली चल्यो, प्रहरीसहित सात घाइते
Next articleखजुरा गाउँपालिका वडा नं.५ र ६ वाल विवाह मुक्त घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here