
दशरथ घिमिरे
दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाको क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर प्रहरीसहित ७ जना घाइते भएका छन् ।
गोली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिँदै छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गोली नचलेको भन्दै प्रहरीको बचाउ गर्नुभएको छ ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ राउन्ड गोली चलाएको थियो । प्रहरीले आफैँ चलाएको गोली खुट्टामा लाग्दा प्रहरी जवान घाइते भएका छन् ।
उनीसहित तरुणदल प्युठानका उपाध्यक्ष रोयल कृष्ण र बिजय रिजाललाई बुटवल रिफर गरिएको छ । अन्य घाइते कुबेर घर्ती, कमल घर्ती, खेमराज पण्डित लगायतको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मतगणनाको क्रममा पौडेल पक्षका उम्मेदवार बिष्णु गिरीले अग्रता लिएपछि देउवा पक्षले ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको र सो क्रममा गोली समेत चलेको थियो ।





