“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”

नेपालगञ्ज । राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दिर्घकालिन असर गरेको मन्त्री अथकले बताउनुभएको छ ।

“राखेपको सन्दर्भमा आदेश त अल्पकालिन थियो तर त्यसले खेलकुदमा दीर्घकालिन असर गरेको छ ।” मन्त्री अथकले भन्नुभयो, “खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट हुने छैन भन्नेमा विश्वस्त छु ।”

समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई प्राथमिकतामा राखेर हेरीनुपर्नेमा अदालतको ढिला सुस्तीका कारण खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था सृजना भएको भन्दै मन्त्री अथकले असन्तुष्टि जनाउनुभयो । “यो रमेश सिलवालको विषय मात्र हैन, अथवा टंकलाल घिसिङको विषय मात्र हैन ।

यो समग्र खेल क्षेत्रसँग जोडिएको विषय हो ।” अथकले भन्नुभयो, “अदालतको निर्णयमा ढिला सुस्ती भईरहेको छ ।” उहाँले खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट नहुने अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।

सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सोहि विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलकालागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै मुद्धामाथी बहस भएन । उक्त मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा मन्त्री अथकसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको समेत सहभागीता रहेको थियो ।

Previous articleनेपालीहरु सबै प्रकारका खेल खेल्न सक्षम : खेलकुद मन्त्री अथक
Next articleखेलकुद मन्त्री अथकद्धारा बिजेता टिमलाई बधाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here