
बाँके । बाँकेमा शनिबार मध्यरातिदेखि तीनदिनसम्मका लागि निषेधाज्ञा लागु भएका छ ।
लकडाउन हटेपछि सामान्य जनजीवनमा फर्किएको नेपालगञ्ज फेरि सुनसान बनेको छ ।
कोरोना संक्रमण बिस्तारै समुदाय स्तरमा देखिन थालेपछि बाँकेमा तीन दिनका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
कोरोना संक्रमणको अवस्था अनुसार थपघट समेत हुने प्रशासनले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बाँकेमा बिहीबार २७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको थियो । एकैदिन २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै बाँकेमा कोरोना समुदायस्तरमै फैलिएको आशंका गरिएको छ ।
बिहीबार बसेको कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको आकस्मिक बैठकले आइतबारबाट लागु हुने गरी तीन दिनका लागि बाँके जिल्लाभर पूर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।






