बाँकेको जानकी गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा संचालन

खजुराखुर्द । बाँकेको जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सेवाका लागि भन्दै गाउँपालिकाले मंगलबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

नागरिकलाई सहज र सुलभरुपमा स्वास्थ्य सेवा एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताउनुभयो । उहाँले एम्बुलेन्समार्फत गाउँपालिकाका स्थानीय नागरिक सहजरुपमा सेवा दिइने बताउनुभयो ।

जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले मंगलबार आयोजित कार्यक्रममा विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्दै एम्बुलेन्स नपाएरै स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

कार्यबाहक अध्यक्ष धितालले स्थानीय नागरिकले जटिल प्रकारका बिरामी हुँदा बेहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन् भन्नका लागि गाउँपालिकाले एम्वुलेन्स खरिद गरेको बताउँदै भन्नुभयो, ‘अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउनेछन् ।’

अहिले गाउँपालिकाका स्थानीय नागरिकहरु अन्य संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्स र नीति गाडीहरु महङ्गोमा भाडामा लिएर सेवा लिन बाध्य भएकोमा अब त्यस्तो बाध्यता नरहने जानकी गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत रानाले बताउनुभयो ।

गाउँपालिकाले नेपाल सरकारको राजश्व छुट गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका गरिव, विपन्न, अपाङ्ग, जेष्ठ नागरिक लगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

Previous article१५० ग्राम ब्राउन सुगरसहित नेपालगञ्जबाट एक जना पक्राउ
Next articleदश वर्षे शिक्षा योजनाको मस्यौदा तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here