
नेपालगञ्ज । नेकपा एमाले नरैनापुर बाँकेले नरैनापुरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको छ ।
प्रशासन कार्यालय स्थापना गर्नका लागि मंगलबार पार्टीले ३ बुँदे मागसहित बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा आफुहरुको माग तत्काल पुरा नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । यसका साथै नेपाली किसानहरुले भारतबाट रासायनिक मल खाद, बिउ बिजन र बाली नालीमा प्रयोग गर्ने औषधी लगायतका कृषि सामग्रीहरु ल्याउँदा सीमामा प्रहरीले गर्ने अवरोधको अन्त्य गर्न माग गरेका हुन ।
सुरक्षाकर्मीले सम्मानजनक व्यवहार गर्ने वातावरण निर्माण गर्न पनि माग गरिएको छ ।
२०७२ सालमा असुरक्षाको कारण देखाउँदै नरैनापुर ४ मा रहेको इलाका प्रशासन कार्यालय बिस्थापित भएको थियो । हालसम्म पनि नरैनापुरमा कार्यालय पुर्नस्थापित नहुँदा त्यहाँका नागरिकले नागरिकता लगायतका सेवाबाट बन्चित छन् ।
ज्ञापन पत्र बुझाउन बाँके नेकपा एमाले जिल्ला इंचार्ज सूर्य ढकाल, राम कुमार दिक्षित, जिल्ला सदस्य सोहनलाल यादव, राजकुमार तिवारी, नेकपा एमाले डुडुवाका सचिव विनय राज त्रिपाठी, लगायतको उपस्थिति रहेको थियो ।





