
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचन पटक पटक स्थगित हुँदै आएको छ । पटक पटक निर्वाचन स्थगित हुनुले कार्यकर्तामा निराशा बढिरहेको छ ।
निर्वाचन स्थगित हुनु, प्रतिस्पर्धी समूहका तर्फबाट सबै उम्मेदवार घोषणा नभएपनि आफ्नो उम्मेदवार सार्वजनिक गरिसकेको गौडेल समूहको प्यानलले मतदाता भेटघाटलाई निरन्तर जारी राखेको छ ।
गौडेल समूहका उम्मेदवारहरु दैनिकजसो नेता, कार्यकतालाई भेटघाटमा व्यस्त छन् । खासगरी गौडेल समूहबाट सहसचिव पदका उम्मेदवार रेणु सिंह ठाकुरले कार्यकर्ता भेटघाट तथा छलफललाई नियमित बनाउनुभएको छ ।
सिंहले जिल्लाका बिभिन्न क्षेत्रमा रहेका नेता कार्यकर्ताको घरदेलोमै पुगेर भेटघाट गरिरहनुभएको हो । उहाँले मतदाता भेटघाटका क्रममा पार्टीको नेतृत्व टिममा आफुलाई जिताउन भोट माग्दै आउनुभएको छ । समूहका उम्मेदवार बिहीबार बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ र ५ का बिभिन्न गाउँ बस्तीका कार्यकर्ताहरुसंग भेटघाट गर्नुभएको छ ।
पार्टीमा सहसचिव पदका बलियो उम्मेदवारका रुपमा रहनुभएकी सिंहलाई सबैलाई रुचाएका छन् । पारिवारिक पृष्ठभूमिबाटै राजनीतिक यात्राको शुरुवात गरेको र सबैसंग व्यहारिक रहनुभएकी सिंहले बिभिन्न समयमा बिभिन्न पदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ ।
जिल्ला सहसचिव पदमा सिंहको जित निश्चित रहेको पनि कैयौं नेताहरु बताउँछन् । पार्टीमा उहाँको छबि राम्रो रहेकाले उहाँलाई कार्यकर्ताले जिताउनेमा कैयौं नेताहरु ढुक्क छन् । उहाँले जिल्लाको नेतृत्व गर्न महिला पनि सक्षम रहेकोले आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
कांग्रेसको अधिवेशन हुन बाँकी रहेको १६ जिल्लामध्ये बाँकेको निर्वाचन फागुन २० गतेभित्र सम्पन्न गर्न केन्द्रीय समितिले निर्देशन दिएको छ ।





